सूचनाको शक्ति - The Power Of Information

        

अपराध

रेडपाण्डाको छाला र भालुको पित्तसहित नेपालगन्जमा तीन जना पक्राउ

बाँके । प्रहरीले नेपालगन्जबाट संरक्षित रेडपाण्डाको छाला र भालुको पित्तसहित गएराती तीन जनालाई पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–१ पुष्पलाल चोकस्थित रहेको राप्ती गेष्ट हाउसमा संरक्षित वन्यजन्तुका अंगको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले राती करिब ०८ः४० बजे उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । राप्ती गेष्ट हाउसमा तलासी लिने क्रममा होटलको १० नम्बर कोठाबाट उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा दाङ घोराही उपमहानगरपालिका–४ का ४९ बर्षिय भक्तबहादुर पुन, ४१ बर्षिय केशव पुन र शान्तीनगर गाउँपालिका–१ का २९ को रोबिन बुढा रहेका छन् । प्रहरीका अनुसार कालो झोलाभित्र सेतो कपडामा रहेको संरक्षित रेडपाण्डा (हाब्रे)को छाला एक थान र चार वटा भालुको पित्तजस्तो देखिने बस्तु बरामद गरेको छ ।

उनीहरुलाई वन ऐन २०७६ को दफा ४९ को (त) को कसुरमा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (१) बमोजिमको ५ लाखदेखि १० लाखसम्म जरिवाना र ५ वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि जिल्ला बन कार्यालयमा बुझाइएको छ ।

प्रकाशित मिति : २७ असार २०७८, आइतवार ११:३२