सूचनाको शक्ति - The Power Of Information

        

‘हत्याराहरूले मार्नुअघि मेरा श्रीमानलाई एक शब्द पनि बोल्न दिएनन्’

गतसाता मारिएका हैटीका राष्ट्रपति जोवेनेल मोइज (दायाँ) श्रीमतीका साथ ।

एजेन्सी । हैटीका राष्ट्रपति जोवेनेल मोइजकी पत्नीले आफ्ना श्रीमानलाई एक शब्द पनि बोल्न नदिइ हत्या गरिएको बताएकी छिन् । राष्ट्रपति मोइजको गत मंगलबार राति निवासमै हत्या भएको थियो । सो क्रममा हतियारधारी समूहले उनकी पत्नी मार्टिन मोइज पनि गम्भीर घाइते भएकी थिइन् ।

हाल उपचाररत उनले हत्याबारे पहिलोपटक बताएकी हुन् । उनले भनेकी छिन्, ‘हत्याराहरूले मेरो श्रीमानलाई एक शब्द बोल्न पनि दिएनन्, निर्ममतापूर्वक मारिदिए ।’ जुलाई ७ को रात विदेशी २८ जना भाडाका सैनिकले राष्ट्रपति मोइजको हत्या गरेका थिए । मोइज हैटीमा अहिलेसम्म मारिएकामध्ये छैटौं राष्ट्रपति हुन् ।

राष्ट्रपति नै मारिएपछि हैटीका अधिकारीहरूले त्यहाँ सुरक्षा व्यवस्था कायम राख्न विदेशी सैनिक आमन्त्रण गरेका छन् । तर, संयुक्त राष्ट्रसंघ र अमेरिकाले सो प्रस्ताव अस्वीकार गरिदिएको छ । हैटी उत्तर र दक्षिण अमेरिकाबीच रहेको क्यारेबियन क्षेत्रमा पर्ने मुलुक हो ।

प्रकाशित मिति : २७ असार २०७८, आइतवार ११:०७