सूचनाको शक्ति - The Power Of Information

        

समृद्धि यात्रा

बैजनाथमा औद्योगिक क्षेत्रदेखि मानसरोवर पार्कसम्मका ‘प्रोजेक्ट’

बाँके । बैजनाथ गाउँपालिकामा उद्योग र पर्यटनसँग सम्बन्धित आधा दर्जन ठूला ‘प्रोजेक्ट’ सञ्चालनको तयारीमा छन् । प्रशस्त सम्भावना हुँदाहुँदै पनि राज्यको नजरमा पर्न नसकेको बैजनाथ नयाँ बन्ने योजना कार्यान्वयनको चरणमा प्रवेश गरेसँगै यतिबेला उत्साहित छ । बैजनाथमा प्रदेशकै ठूलो नौवस्ता औद्योगिक क्षेत्र, मानसरोवर स्मारक पार्क, गाभर भ्याली होमस्टेसँगै लायन्स पार्कजस्ता ठुला ‘प्रोजेक्ट’ केही सञ्चालनमा आइसकेका छन् भने केही निर्माणको चरणमा छन् ।

औद्योगिक र पर्यटकीय विकासमा कायपलट पार्ने यी योजनाबाहेक सरकारी तहबाट खुला कारागार पनि यही निर्माण भएको छ । अत्याधुनिक प्रविधिबाट च्याउ, अष्ट्रिच फार्मजस्ता कृषि उपज क्षेत्रमा लगानी थपिएको छ । स्थानीयहरु बैजनाथको भविष्य बदलिनेमा बिश्वस्त छन् । सरकारले बाँकेको नौवस्तामा स्थापना गर्न लागेको औद्योगिक क्षेत्र निर्माणको प्रक्रिया औपचारिकरुपमा अघि बढेको छ । सरकारले २०७२ चैत १ गते बाँकेको नौबस्तामा प्रदेश स्तरको ठुलो औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा गरेको थियो ।

औद्योगिक क्षेत्र निर्माण गर्न बैजनाथ गाउँपालिकाको नौवस्तामा ३३८ विघा जग्गा अधिग्रहण गरी औद्योगिक क्षेत्र निर्माणको काम सुरु भइसकेको छ । सरकारले २०७३ जेठ २७ गते जग्गाधनी दर्ता प्रमाणपत्र उपलब्ध गराएको थियो । औद्योगिक क्षेत्रको फागुन १२ गते शिलान्यास भई निर्माण कार्य सुरु भएको छ । आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ औद्योगिक क्षेत्र निर्माणको काम अघि बढेको छ । निर्माण सम्पन्न भएपछि नौबस्ता औद्योगिक क्षेत्र पश्चिमकै ठुलो औद्योगिक क्षेत्रका रुपमा स्थापित हुनेछ ।

नेपालगन्ज औद्योगिक क्षेत्रभन्दा ठुलो र त्यसको बिकल्पका रुपमा नौवस्ता औद्योगिक क्षेत्रलाई सरकारले हेरेको छ । अहिले नेपालगन्ज बजारको मध्यभागमा सञ्चालनमा रहेको ‘नेपालगन्ज औद्योगिक क्षेत्र’ले प्रतिकूल वातावरणीय प्रभाव परेका कारण पनि शहर बाहिर औद्योगिक क्षेत्र स्थापना गर्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएसँगै नौवस्तामा औद्योगिक क्षेत्र निर्माण थालिएको हो । नेपालगन्ज औद्योगिक क्षेत्रमा रहेको उद्योगबाट निस्कने धुँवा र मेशिनको चर्को आवाजका कारण औद्योगिक क्षेत्र सार्नुपर्ने माग वर्षौंदेखि उठ्दै आएको थियो ।

बाँकेको नौवस्तामा ठूलो क्षमताको औद्योगिक क्षेत्र स्थापना भएपछि पनि नेपालगन्ज औद्योगिक क्षेत्रका उद्योग आवश्यकताअनुसार त्यहाँ स्थानान्तरण गर्न सकिनेछ । नौवस्तामा औद्योगिक क्षेत्र स्थापनापछि यसले लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने र वस्तु उत्पादनमा मुलुक केही हदसम्म आत्मनिर्भर पनि हुने विश्वास गरिएको छ । नौबस्ता औद्योगिक क्षेत्रले स्थानीयस्तरमा प्रशस्त रोजगारी सिर्जना गर्नुका साथै विकासका ढोका समेत खोल्ने सोही क्षेत्रका संविधानसभा सदस्य रहेका दलबहादुर सुनार बताउँछन् ।

उनी भन्छन्, ‘बैजनाथ गाउँपालिका राम्रो सम्भावना बोकेको ठाउँका रुपमा स्थापित छ ।’ उक्त क्षेत्रमा बन्न लागेको अर्को योजना भनेको मानसरोवर पार्क हो । जसलाई प्रदेश सरकारले उच्च महत्व दिएको छ । ‘बाँके राष्ट्रिय निकुञ्ज, गाभर होमस्टेमार्फत पर्यटन प्रवद्र्धनमा आफुलाई स्थापित गरिसकेको बैजनाथमा औद्योगिक क्षेत्र निर्माण र मानसरोवार पार्क बन्नु उत्साहको कुरा हो,’ संविधानसभा सदस्य सुनारले भने, ‘उद्योग, कलकारखाना मात्र नभई यहाँ पर्यटनको विकासमो प्रचुर सम्भावना छ । आगामी दिनमा त्यसतर्फ विकास हुन्छ ।’

कुल परियोजना लागत ८ अर्ब ७७ करोड रुपैयाँ बराबर अनुमान गरिएको यो औद्योगिक क्षेत्रले २० हजार व्यक्तिका लागि प्रत्यक्ष–अप्रत्यक्षरुपमा रोजगारी सिर्जना गर्ने अनुमान गरिएको छ । पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको यो परियोजना स्थानीय कच्चा पदार्थमा आधारित उद्योगलाई विशेष ग्राह्यता दिने उद्देश्यका साथ निर्माण गर्न लागिएको हो । यो औद्योगिक क्षेत्रका लागि बैजनाथ गाउँपालिकाको उत्तरमा रत्न राजमार्ग, दक्षिणमा डिगिया डाँडा, पूर्वमा गाभर र पश्चिममा पितामरी चार किल्ला कायम भएको छ ।

औद्योगिक क्षेत्रभित्र १११ वटा औद्योगिक प्लट रहनेछन् भने एउटा प्लटको आधार ९ देखि ३० रोपनीसम्म रहने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ । यो यहाँभित्र कृषिमा आधारित उद्योग, वनमा आधारित उद्योग, टेक्सटाइल, मिनरल, केमिकल, फलाम, सिमेन्ट उद्योग, स्टील तथा अन्य धातुसम्बन्धी उद्योग, इँटा उद्योग, चाउचाउ तथा बिस्कुट उद्योग, छाला उद्योग, खाद्य उद्योग, फर्निचर, साबुन उद्योग लगायत उत्पादनमा आधारित उद्योग स्थापना गरिनेछ ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार औद्योगिक क्षेत्र निर्माणसँगै त्यहाँभित्र उद्योग सञ्चालन गर्न चाहनेका लागि पटक–पटक प्रस्ताव आह्वान गरिरहेको छ । यसअघि प्रारम्भिक चरणमा गरिएको आशयपत्र मागअनुसार ३०० बढी उद्योगले चासो देखाएका छन् । ५२५ बिगा क्षेत्रफलमा फैलिएको औद्योगिक क्षेत्रको ३३८ बिगा जग्गामात्रै औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको भोगाधिकारभित्र आएको छ । बैजनाथ गाउँपालिकामा बिभिन्न जातजाती, धर्म सम्प्रदायको बसोबास छ ।

पहाडको काखमा रहेको समथर भूभागले घेरिएको यस क्षेत्रमा स्थानीय तहको निर्वाचनपछि ढिलै भए पनि विकास आउन थालेको स्थानीयले महसुस गरेका छन् । गाभर भ्याली होमस्टेका सञ्चालक कृष्णलाल चौधरी भन्छन्, ‘यो आफैमा राम्रो सम्भावना भएको ठाउँ हो । यहाँ नयाँनयाँ प्रोजेक्टहरु सञ्चालनमा आउनु खुसीको कुरा हो ।’ बैजनाथ गाउँपालिकाको वडा नं.१ चिसापानीमा पश्चिम क्षेत्रकै एकमात्र एमबिबिएस पढाई हुने मेडिकल कलेज सञ्चालनमा छ । पश्चिमाञ्चल पोल्ट्री फर्मले अण्डा उत्पादनमा महत्वपूर्ण योगदान दिँदै आएको छ ।

स्थानीय तह, प्रदेश र केन्द्र सरकारको नजरमा परेको परेपछि बैजनाथ गाउँपालिकाले निकट समयमा आफ्नो भविष्य बदल्दैछ । चीनको तिब्बतमा रहेको हिन्दूहरुको आस्थाको केन्द्र तीर्थस्थल मानसरोवरको प्रतीकसहित गाउँपालिकाको वडा नं ६ मा बोटानिकल गार्डेनसहित मानसरोवर पार्क निर्माणकै चरणमा रहेको छ । विकासका दृष्टिले पछि परेको गाउँपालिकामा ठूला योजना शुरु भएपछि स्थानीयवासी खुशी भएको बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचाल ठकुरीले बताए ।

न्यू हरियाली सामुदायिक वन उपभोक्ता समूहको जङ्गल हाताभित्र निर्माण गरिने मानसरोवर पार्क निर्माण भइरहेको छ । पछिल्लो समय नेपालगन्ज हुँदै पवित्र धार्मिकस्थल कैलाश मानसरोवर दर्शन गर्न जाने नेपाली तथा भारतीय पर्यटकको आकर्षण बढेसँगै त्यहाँ जाने पर्यटकको मन बहलाउन तथा मानसरोबर जान नसक्नेलाई मानसरोवरको प्रतिकका रूपमा बैजनाथमा मानसरोवरको प्रतीकात्मक उद्यानस्थल निर्माण गत बर्षबाट सुरु भएको छ ।

करिब पाँच हेक्टर क्षेत्रफलमा प्रतिमूर्तिसहित बोटानिकल गार्डेन निर्माण भइरहेको छ । भौगोलिक विकटता र खर्च धेरै लाग्ने भएकाले अधिकांश मानसरोवर पुग्न नसक्ने पर्यटकलाई लक्षित गरेर निर्माण हुन थालेको अध्यक्ष रुचालको भनाई छ । ‘स्थानीयको प्रत्यक्ष सहभागितामा बोटानिकल गार्डेनको योजनाले पूर्णता पाउँदैछ,’ अध्यक्ष रुचालले भने, ‘यसले यहाँको आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनमा मद्दत पुग्छ ।’ आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढाउने उद्देश्यले मानसरोवरको प्रतीकात्मक स्थल निर्माण गरिएको हो ।

उच्च हिमाली क्षेत्र भएकाले चाहेर पनि मानसरोवरको यात्रामा जान गाह्रो छ । अध्यक्ष रुचालले भने, ‘भौगोलिक विकटता र खर्च धेरै लाग्ने भएकाले अधिकांश पर्यटक पुग्न सक्दैनन् ।’ त्यस्ता पर्यटकलाई लक्षित गरेर निर्माण प्रक्रिया थालिएको उहाँको भनाइ छ । हिन्दू धर्मअनुसार भगवान शिव र पार्वतीको बासस्थान क्षेत्र भएकाले हिन्दूहरुले यो स्थानलाई पवित्र तीर्थस्थलका रुपमा लिएको पाइन्छ । विभिन्न हिन्दू धर्मग्रन्थमा कैलाश मानसरोवरको चर्चा गरिएको छ । कैलाश पर्वतलाई परिक्रमा गर्दा ठूलो पुण्य प्राप्त हुने विश्वास गरिन्छ ।

मानसरोवर हिन्दू र बुद्ध धर्मका लागि धार्मिक महत्व भएको ताल मानिन्छ । यो ताल समुन्द्र सतहबाट करीब छ हजार ६०० मिटरको उचाइमा अवस्थित छ । यस तालको पश्चिममा राक्षस ताल रहेको छ भने उत्तरमा कैलाश पर्वत रहेको छ । मानसरोवर र कैलास पर्वतको दुरुस्त प्रतिमूर्ति बनाएर खासगरी भारतीय पर्यटकलाई आकर्षण गर्ने उद्देश्य राखिएको अध्यक्ष रुचालले बताए । मानसरोवर र कैलाश पर्वतको प्रतीकात्मकस्थल निर्माणपछि स्थानीयहरुले लाभ समेत लिन सक्ने गाउँपालिकाका अध्यक्ष रुचालको भनाई छ ।

‘तिब्बतमा रहेको हिन्दु तथा बौद्ध धर्मालम्वीको धार्मिकस्थल मानसरोवरको झल्को बाँकेमै दिने प्रयास गरिएको छ । यसले गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा अत्यन्तै फाइदा पुर्याउने छ,’ अध्यक्ष रुचालले भन्नुभयो, ‘मानसरोवर जान चाहेर पनि नसक्नेहरूका लागि त्यहाँको सम्पूर्ण झल्को दिने संरचना बनेसँगै बाँकेमै त्यस्तो भरपूर आनन्द पाउने वातावरण बन्नेछ ।’ उद्यानमा तराईमा पाइने विभिन्न प्रजातिका वनस्पति लगाइनेछन् ।

जहाँ ‘रोज गार्डेन’सहित पूmलका बगैंचा हुनेछन् । मानसरोवर र कैलाश पर्वतको प्रतीकात्मकस्थल निर्माणले बाँकेको आन्तरिक तथा बाह्य पर्यटनमा ठूलो सहयोग पुग्ने गाभर भ्याली सामुदायिक घरवासका अध्यक्ष कृष्ण चौधरीले बताए । यसको निर्माण सम्पन्न भएसँगै बाँकेका होटल र घरवासमा पनि पर्यटन प्रवद्र्धन हुने उनको अनुमान छ । मानसरोवर पार्क निर्माण भएपछि मानसरोवर जान नसक्नेहरुले यही मानसरोवर पुगेको अनुभूति गर्नेछन् । यो प्रदेशभित्र पश्चिम क्षेत्रको प्रमूख पर्यटकीय गन्तव्य बन्नेछ ।

कैलाश मानसरोवर पुग्न सबैभन्दा नजिकको रुट नेपालगन्ज–सिमकोट–हिल्सा हो । यो रुट हुँदै मानसरोवर पुग्ने भारतीय तीर्थालुहरुको संख्या अधिक छ । पार्क निर्माणपछि भारतीय तीर्थालुहरुले मानसरोवरका बारेमा सहजै जानकारी लिन सक्नेछन् । नौवस्ता औद्योगिक क्षेत्र र मानसरोवर पार्क निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि त्यसको पहिलो लाभग्राही बैजनाथबासी नै बन्नेछन् । यी दुई ठुला आयोजनाले रोजगारी वृद्धि गर्नुका साथै गाउँपालिकामा आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा समेत वृद्धि हुने देखिन्छ ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार ०८:३८