सूचनाको शक्ति - The Power Of Information

        

बायोफ्लक प्रविधिबाट माछापालन

बाँके । बाँकेमा पनि बायोफ्लक प्रविधिबाट माछापालन सुरु गरिएको छ । कोहलपुर नगरपालिका–१५, चन्दवा नजिकै सरस्वती एग्रोफार्ममा जेठदेखि बायोफ्लक प्रविधिबाट माछापालन थालिएको हो । एग्रोका सञ्चालक मणिराम चौधरीले गत वर्ष बन्दाबन्दीको समयमा सामाजिक सञ्जालमार्फत विभिन्न मुलुक र नेपालकै चितवन लगायतका स्थानमा यही प्रविधिबाट माछापालन गरिएको जानकारी पाएपछि आफू पनि जोडिएको बताए ।

माछापालनका लागि चारवटा ट्याङ्की निर्माण गरिएको र पहिलो चरणमा दुईवटा ट्याङ्कीमा माछापालन गरिएको छ । दुवै ट्याङ्कीमा गरी करिब चार हजार माछापालन गरिएको छ । ‘करिब दुई महिनाको समयमा ट्याङ्कीमा पालिएका माछाको वृद्धिबाट सन्तुष्ट छु,’ चौधरीले भन, ‘थोरै जमिनमा प्रविधिको प्रयोगबाट माछापालन गर्न सकिने रहेछ ।’ ट्याङ्कीमा पालिएका माछाका लागि अक्सिजन पर्याप्त भए नभएको विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।

करिब १० धुर जग्गामा चारवटा ट्याङ्की निर्माण गरेका चौधरीले यसबाट राम्रो आम्दानी गर्न सकिनेमा आफू विश्वस्त रहेको बताए । बायोफ्लक प्रविधिबाट थोरै जमिनमा पनि धेरै माछापालन गरेर आम्दानी गर्न सकिने भन्दै चौधरीले यसमा आर्थिक भार पनि बढी नपर्ने बताए । एक पटक ट्याङ्की निर्माण गरेपछि लामो समयसम्म माछापालन गर्न सकिने चौधरीको भनाइ रहेको छ ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार ०९:३०