सूचनाको शक्ति - The Power Of Information

        

सेतीका माछा जोगाउने अभियानमा पानी परियोजना

बझाङ । रैथाने माछा जोगाउनमा पानि परियोजनाले विभिन्न ठाउँमा जलचर समुहहरु गठन गरेको छ । कोभिड–१९ का कारण सरकारले लकडाउन घोषणा गरेपछि रैथाने माछा मार्नेको संख्या वृद्धि भएको छ । लकडाउनको समयमा जाल, पासा, करेन्ट हालेर माछा मार्न थालेपछि जलचरहरुलाई संरक्षण गर्ने उद्देश्यले पानी परियोजनाले माछापालनमा जोड दिएको छ ।

तलकोट गाउँपालिका र जयपृथ्वी नगरपालिकाका ८ वटै वडामा काम गर्ने पानी परियोजनाले कोरोना माहामारीका कारण विदेशमा आफ्नो रोजगारी खोसिएपछि नेपाल फर्केका तथा कोरोना प्रभावित न्यून आयस्रोत भएका ५ जनाको समुह गठन गरेर माछापालन व्यवसायतर्फ किसानलाई आकर्षण गरेको पानी परियोजनाका कार्यक्रम संयोजक शिवराज जोशीले बताए ।

जयपृथ्वी नगरपालिका–३ को डुंग्री, सिमल तोलामा, तलकोट गाउँपालिका र जयपृथ्वी नगरपालिका वडा नं. ११ को बीच भाग सुनिगार्डमा, वडा नं. ७ को कचाली खोला, वडा नं. ५ को कोटेलीमा र वडा नं. १० को चैनपुर र दमधुर गरी ६ ठाउँमा जलचर संरक्षण समुह गठन गरेको छ । जोशीले कोभिडका कारणले माछा मार्नेहरुको संख्यामा वृद्धि भएपछि रैथाने माछाहरु लोभ हुन थालेका छन् ।

उनले यसलाई बचाई राख्न तथा कोभिड प्रभावित विपन्न परिवारका लागि राहत हुने भएकाले परियोजनाले माछापालनमा कृषकहरुलाई आर्थिक सहयोग गरेको बताए । उनका अनुसार एक पोखरीमा १ हजार २०० माछाका भुरा, प्रति पोखरी २० केजीका दरले माछाको चारो, ८६ हजार बराबरको पोखरी, कुखुराको खोर निर्माणको लागि २६ हजार बराबरको सामान, ५ सयका दरले ५० वटा कुखुराका चल्ला,२ हजार बराबरको चारो ख्वाउने भाँडा लगाएतको सामान जलचर संरक्षण समुहलाई सहयोग गरेको छ ।

१२ बर्षदेखि भारतमा रोजगारी गर्दै आएका जयपृथ्वी नगरपालिका–७ कचाली खोला घर भएका तथा कचाली खोला जलचर संरक्षण समुहका अध्यक्ष दिपक चदाराले भने, ‘उपलब्धी केहि भएको छैन । भारतमा कोरोनाले रोजगारी गुमेर घरमा आएको थिए । पानी परियोजनाले जलचर संरक्षणको अभियान तथा परियोजनाले गरेका थुपै कार्यक्रमहरुमा बस्ने तथा सहभागि हुने मौका पाए । जलचर संरक्षणको लागि माछापालन गर्न परियोजनाले समुह गठन गरेपछि हामीले परियोजनाको आर्थिक सहयोगमा पोखरी बनाएर माछापालन गरेका छौ ।’

चदाराले पहिलो पटक माछापालन गर्न लागेको बताए । उनले भने, ‘खै के हुने हो ? पहिला भारतबाट आएर तरकारी खेति गर्थे, उपलब्धी केहि भएको छैन । त्यहि पनि संस्थाले माछापालन गर्न हाम्रो समुहलाई दिएको छ । घर आँगनमै काम गर्न पाउँदा खुसी लागेको छ । परियोजनाले १ हजार २०० माछाका भुराहरु राखेको पोखरीमा १०० जति भुरा मरिसकेका छन् ।’

माछापालन गर्नेहरुको प्रशंसा गर्दै जयपृथ्वी नगरपालिका उपप्रमुख जुना जाग्रीले कचाली जलचर संरक्षण समुहलाई परियोजनाले गरेको जलचर संरक्षणको लागि परियोजनाले मात्र नभएर माछापालनको लागि नगरपालिकाले पनि सहयोग गर्ने बताइन् । अघिल्ला बर्षहरुमा पनि केहि ठाउँमा परिक्षणको लागि माछापालन गर्न नगरपालिकाले सहयोग गरेको भए पनि परिक्षण सफल नभएको उनले बताइन् ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार ०७:२८