सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेसमा चुनावी चहलपहल : जिल्ला सभापतिमा १० नेता आकांक्षी

बझाङ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन निश्चित भएपछि देशका विभिन्न जिल्लामा चुनावी चहलपहल बढेको छ । बझाङ जिल्लामा पनि चहलपहल बढ्न थालेको छ । नेपाली कांग्रेस बझाङ जिल्लाको सभापतिका लागि आकांक्षीहरु नखुले पनि भित्रभित्रै कसरत भने सुरु भइसकेको छ । कसरी टिममा पर्ने र केन्द्रिय नेताको राय र सल्लाह अनुसार अगाडी बढ्ने भन्दै कसरत सुरु हुन थालेको छ ।

साउन १२ गते तोकिएको कांग्रेसको १४ औं महाधिवेशनमा बझाङ जिल्लाका १० वटा गाउँपालिका र २ वटा नगरपालिकाका ९४ वटा वडाबाट क्रियाशिल सदस्यहरुले जिल्ला अधिवेशनमा सहभागिता जनाउन पाउने पूर्व पार्टी सभापति पृथ्वीबहादुर सिंहले बताए । सिंहले भने, ‘हाल जिल्लामा कोहि पनि नेताहरु नआएकाले आधिकारीक रुपमा सभापतिको लागि कसले उम्मेद्वारी दिने भन्ने टुंगो लागेको छैन । सबै जना अहिले सहमतिकै पक्षमा लागि राखेका छौ ।’

सामाजिक सञ्जाल हेर्दा त आकांक्षी धेरै देखिएका छन् । पार्टीले बैठक बोलाएको छैन । पार्टीले साउन १२ गते वडा अधिवेशन, १६ गते गाउँपालिका तथा नगरपालिका अधिवेशन, २० गते क्षेत्रिय अधिवेशन, २३ गते जिल्ला अधिवेशनको तयारी गरेको छ । ‘बैठक कहिले बस्ने भन्ने छलफल भएको छैन । अब सर्वोच्चको निर्णयलाई पर्खिरहेका छौ । सहमतिमै सभापति चयन गर्छौ,’ पूर्व पार्टी सभापति सिंहले भने ।

गाउँपालिका तथा नगरपालिकाबाट गरी जम्मा १५०४ जना सहभागि हुने भएका छन् । धेरै जना आकांक्षी हुनु स्वभाविकै भएको पूर्व सभापति पृथ्वीबहादुर सिंहले बताए । ‘लोकतान्त्रीक पार्टी भएकाले नेपाली कांग्रेसमा सबैको योगदान ठुलो रहेको छ । हामी अहिले चुनाव नगरेर सहमति तथा मिलोमतो गरेरै सभापति चुन्ने प्रयासमा छौ । कोभिडको कारणले पनि हामी मिलोमतोमै सभापति चुन्ने प्रयास गर्छौ । को उठ्ने को बस्ने भन्ने पार्टीको बैठक बसेपछि थाहा हुनेछ,’ पूर्व सभापति सिंहले भने ।

सभापतिमा १० जनाको चर्चा

सभापतिको लागि जिल्लामा ७ वटा स्थानीय तहबाट १० जना नेता आकांक्षी देखिएका छन् । जसमा जयपृथ्वी नगरपालिकाबाट वर्तमान पार्टी सभापति हर्कजंङबहादुर सिंह, क्षेत्रिय सभापति भरतराज जोशी, पूर्व जिविस सभापति, जयपृथ्वी नगरपालिकाको मेयरमा पराजित चेतराज बजाल, मष्टा गाउँपालिकाबाट पार्टी उपसभापति ज्ञानबहादुर बोहरा, सुर्मा गाउँपालिकाबाट, १३ औ अधिवेशनमा जिल्ला सभापति पदमा पराजित भएका खडकबहादुर बोहरा, पार्टी प्रवक्ता पुस्कल बोहोरा आकांक्षी देखिएका छन् ।

त्यस्तै केदारस्युँ गाउँपालिकाबाट १३ औ अधिवेशनमा जिल्ला सभापतिमा पराजित रमेश भण्डारी, थलारा गाउँपालिकाबाट १३ औ अधिवेशनमा जिल्ला सभापतिको उम्मेदारी फिर्ता गरेका देवराज शर्मा, खप्तड छान्ना गाउँपालिकाबाट महासमिति सदस्य जगतप्रसाद जोशी, बुंगल नगरपालिकाबाट तरुण दलका पूर्व केन्द्रिय उपाध्यक्ष प्रताप गुरुधामीको नेपाली कांग्रेसको जिल्ला सभापतिको लागि चर्चा चलेको छ भने, ५ वटा स्थानीय तह वित्थडचिर, तलकोट, दुर्गाथली, छविसपाथिभेरा गाउँपालिका र साइपाल गाउँपालिकाबाट भने अहिलेसम्म सभापतिका आकांक्षी देखिएका छैनन् ।

बझाङबाट नयाँ क्रियाशिल सदस्य कति थपिए ?

बझाङमा यसपटक ३५ देखि ३८ सयको हाराहारीमा क्रियाशील सदस्य थपिएका छन् । त्यसको लिष्ट केन्द्रमा पठाएको छ । छानविन भैरहेको छ । त्यसको आधिकारीक लिष्ट अहिलेसम्म नपुगेको र बझाङ जिल्लामा कांग्रेसका क्रियाशील सदस्यको संख्या लगभग ७ हजार ७०० पुगेको प्रवक्ता पुस्कल बोहराले बताए । ३ हजार ८०० जना नयाँ क्रियाशिल सदस्य थपिएपछि सदस्य संख्या बढेको हो । कांग्रेसमा पुराना ३ हजार ९०० जना क्रियाशिल सदस्य रहेको उनले बताए ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार ०७:०४