सूचनाको शक्ति - The Power Of Information

        

नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

नारायणगढ–मुग्लिन सडकको विस्तारका क्रममा भित्तातर्फबाट पहिरो खस्ने जोखिम जारी रहेकाले विभिन्न ठाउँमा पाइपको स्काई फोल्डिङ बनाएर ढुङ्गालाई ड्रिल गरेर भिरमा अर्को ढुङ्गामा अड्याउने रक बोल्ट्रिङ र भिरबाट ढुङ्गा, माटो झर्न नदिन ड्रिल गरेर जाली अड्याउने रक नेटिङ गरिएको सडकको भित्ता । तस्बिर : नारायण अधिकारी/रासस

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ ।

गए राति ८ बजे भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीका अनुसार बिहानैदेखि दुईवटा जेसिभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ ।

जेसिभीले ढुङ्गा पन्छाउन नसके ग्रेडरले फुटाउनुपर्ने भएमा सडक सञ्चालन हुन समय लाग्ने उहाँले बताउनुभयो ।

बुधबार बिहान ९ बजेदेखि एकतर्फीरूपमा सञ्चालनमा आएको सडक साँझ ६ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको थियो ।

सडकखण्डको सो क्षेत्रमा पहिरो र ढुङ्गा खस्ने क्रम भने रोकिएको छैन । सडकखण्डमा एक सातादेखि निरन्तर पहिरो खसिरहेको छ ।

पहिरोका कारण सडक पटकपटक अवरुद्ध हुँदै आएको छ । पहिराले सयौँ सवारी साधन रोकिएका छन् ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार ०८:५३