सूचनाको शक्ति - The Power Of Information

        

प्रहरी नै बेपत्ता भएपछि…

बेपत्ता भनिएका प्रहरी जवान मोहनसिंह कुँवर ।

गोरखा । जिल्लाको सामागाउँ प्रहरी चौकीमा कार्यरत एक प्रहरी जवान २३ दिनदेखि बेपत्ता भएका छन् । कञ्चनपुर घर भई हाल सामागाउँमा कार्यरत ३१ वर्षीय मोहनसिंह कुँवर गत असार १ गतेदेखि सम्पर्कविहीन भएको गोरखाका प्रहरी प्रमुख एसपी शेखर खनालले जानकारी दिए ।

‘बिदामा बसेर हाजिर हुन आएका तर जिल्ला प्रहरी कार्यालयमा सम्पर्क नगरी कार्यक्षेत्र गएका रहेछन् । साथीहरूले असार १ गते तातोपानीसम्म पुर्याएर फर्किएको भन्ने जानकारी आयो । त्योभन्दा माथिको बाटैमा पर्ने जगत प्रहरी चौकी, सिर्दिबास चौकी, नाम्रुङ चौकीमा पनि सम्पर्कमा छैनन् । हराएको यत्तिका दिन भइसक्यो, घरमा पनि सम्पर्कमा छैनन्,’ एसपी खनालले भने ।

गोरखा सदरमुकामबाट ५२ कोस टाढा रहेको सामागाउँ पुग्न एकदिन मोटरबाटो र चार दिन पैदल हिँड्नुपर्छ । गत असार १ गते लगातार परेको वर्षाका कारण सामागाउँ जाने बाटोअन्तर्गत पर्ने हुल्चुक दोभान, यारु, सल्लेरी, हावाडाँडालगायत क्षेत्रमा पहिरोका कारण बाटो अवरुद्ध भएको थियो । त्यस दिन गएको पहिरोका कारण अवरुद्ध बाटो अहिलेसम्म पनि सुचारु भएको छैन ।

कुँवरको खोजबिन तथा घटनाको छानबिनका लागि जिल्ला प्रहरी कार्यालय गोरखाले प्रहरी निरीक्षकको संयोजकत्वमा छानबिन समिति गठन गरी खोज्ने काम गरिरहेको एसपी खनालले बताए । ‘उनी परिवारको पनि सम्पर्कमा छैनन् । त्यसदिनदेखि फोन पनि अफ छ । हामीले खोजिगरिरहेका छौँ,’ एसपी खनालले भने । गत चैतदेखि प्रहरी चौकी सामागाउँमा सेवारत कुँवर ११ वर्षअघि प्रहरी सेवामा भर्ना भएका थिए ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार ११:४७