सूचनाको शक्ति - The Power Of Information

        

विदेशबाट ल्याएका मोवाइल फोनमा साउनदेखि कर

काठमाडौं । आगामी साउन १ गतेबाट अवैध रूपमा विदेशबाट आयात गरिएका मोबाइल फोन नेपालमा नचल्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा आएसँगै त्यस्ता फोन नियमन गर्न लागिएको हो । त्यसबाहेक प्राधिकरणले हाल नेपालमा प्रयोगमा रहेका मोबाइल फोनहरूलाई पनि अनिवार्य रुपमा दर्ता गर्न सर्वसाधारणहरूलाई आग्रह गरेको छ ।

प्राधिकरणका अनुसार मोबाइल फोन प्रयोगकर्ताहरूले आफ्नो वेबसाइटमा (nta.gov.np)मा गएर आफूले प्रयोग गरिरहेको सेट दर्ता गर्न सक्छन् । वेबसाइटमा उपलब्ध फारममा आफूले प्रयोग गरिरहेको मोबाइलबाट *#06# थिचेपछि प्राप्त हुने आईएमईआई नम्बर उल्लेख गर्नुपर्ने हुन्छ । त्यसबाहेक त्यहाँ नागरिकता वा राहदानी नम्बरसहित विभिन्न किसिमका व्यक्तिगत विवरणको माग गरिएको हुन्छ ।

नेपालमा २०६६ सालदेखि नै आयात गरिएका फोनहरूको टाइप अप्रुभल (बजार बिक्री गर्नका लागि उपकरण योग्य छ छैन भन्ने विवरण) आयातकर्ताले गराउँदै आएका छन् । मोबाइल फोन दर्ता गर्दा राज्यले प्राप्त गर्ने राजश्व वृद्धि हुनेछ र मोबाइल फोन सुरक्षित हुने प्राधिकरणको भनाइ छ । सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि गत जेठ १५ गते जारी गरेको बजेट वक्तव्यमा एमडीएमएसबाट अवैध मोबाइल सेट प्रयोग नियन्त्रणमा आउने र मोबाइल प्रयोग गरी हुने आपराधिक गतिविधि समेत नियन्त्रण हुने विश्वास लिएको उल्लेख गरिएको थियो ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलवार १७:४०