सूचनाको शक्ति - The Power Of Information

        

गुराँसको जंगलभित्र घोडा र साइकल !

म्याग्दी । अन्नपूर्ण गाउँपालिकास्थित घोडेपानी क्षेत्रको गुराँसको जंगलभित्र घोडा र साइकल मार्ग बनाइएको छ । वडा नं.६ मा पर्ने घोडेपानीदेखि वडा नं.७ को प्यारीबाराही ताल जोड्ने साइकल र पोन्नी ट्रेल (घोडा मार्ग) निर्माण भएको हो ।

गाउँपालिकाले पहिचान गरेको घोडेपानी–प्यारीबाराही ताल जोड्ने मार्गमा प्रदेश सरकारले चरा अवलोकन स्थल र घोडा बाँध्ने तबेलासमेत बनाएको छ । घोडेपानी भ्रमणमा आउने पर्यटकको बसाइ लम्ब्याउन प्यारीबाराही ताल जोड्ने पदमार्ग पहिचान गरेर पूर्र्वाधार निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष सुशील पुनले बताए ।

‘घोडेपानीदेखि प्यारीबाराही ताल जोड्ने साइकल र पोन्नी ट्रेक मार्गका साथै चरा अवलोकन स्थल र तबेला निर्माण गरिएको छ,’ उनले भने, ‘सडकका कारण छोटिएको पर्यटकको बसाइ लम्ब्याउन सहायक गन्तव्य बनाएका हौँ ।’ कोरोनाको जोखिम र निषेधाज्ञाको असहज अवस्था भए पनि वनमा असर नपुग्ने गरी स्थानीय युवा र मजदुर परिचालन गरेर मार्ग बनाइएको हो ।

घोडेपानी–प्यारीबाराही मार्गमा पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले डिभिजन वन कार्यालयमार्फत २० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । उक्त बजेटबाट फरक–फरक ठाउँमा डेढ मिटर फराकिलो तीन÷तीन किलोमिटरको साइकल र घोडा मार्ग निर्माण भएको सहायक वन अधिकृत नवीन विश्वकर्माले बताए ।

‘लालीगुराँसको घना जंगलको बीचमा समथर चौर भएको कालीसार भन्ने ठाउँमा चरा अवलोकन स्थल बनाइएको छ,’ उनले भने, ‘गुराँसे जंगलको पृष्ठभूमिमा धौलागिरि, अन्नपूर्ण शृङ्खलाका हिमालको दृश्य अवलोकन गर्न सकिन्छ ।’ यसैगरी भालखारामा पर्यटक चढ्ने घोडा बाँध्ने तबेला निर्माण भएको छ ।

घोडेपानी आसपासका सम्भावित नयाँ पर्यटकीय गन्तव्य स्थलमा पूर्वाधार विकास गरेर पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले नयाँ अवधारणाको मार्ग बनाइएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए । घोडेपानी र प्यारीबाराही क्षेत्रमा ठूलो गुराँसको जंगल छ । जङ्गलमा डाँफे, कालिज, मृग, चितुवा, घोरललगायत वन्यजस्तुको बसोबास छ ।

जैविक विविधताका हिसाबले पनि यो पदमार्ग आकर्षक छ । घोडेपानी र प्यारीबाराही तालको नजिकै पर्ने फूलबारीमा प्रदेश सरकारकै १० लाख रुपैयाँ सहयोगमा गुराँस पार्क स्थापना भएको छ । घोडेपानीबाट पर्यटकहरु घोडा र साइकल दुवै चढेर प्यारीबाराही ताल जान तथा आउन सक्ने भएका छन् ।

जंगलबीच रहेको प्यारीबाराही तालको धार्मिक तथा पर्यटकीय सम्भावना छ । तालमा हिमालको छायाँ देखिन्छ । जनैपूर्णिमा पर्वमा यहाँ पूजाआजा गरेमा मनोकाङ्क्क्षा पूरा हुने विश्वासका साथ मेला लाग्ने गर्छ । करिब २०० मिटर लम्बाइ र १०० मिटर चौडाइमा गोलो आकारमा फैलिएको ताल आकर्षक छ । तालमा खस्ने पात एउटा चराले टिपेर फाल्ने गरेको स्थानीयवासी बताउँछन् ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलवार १२:५१