सूचनाको शक्ति - The Power Of Information

        

पुनः बढ्न थाल्यो कोरोना सङ्क्रमण

काठमाडौं । सार्वजनिक यातायात तथा बजार, पसल खुल्न थालेसँगै कोरोना सङ्क्रमण पुनः बढ्न थालेको छ ।

विगत २४ घण्टामा थप दुई हजार ६२२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको छ ।

 एक दिनअघि एक हजार ६०३ जनामा कोरोना पुष्टि भएको थियो। सोमबारको सङ्क्रमणसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या छ लाख ४६ हजार ३६७ पुगेको छ ।

यता एक सातादेखि उपत्यकालगायत देशभर लगाइएको निषेधाज्ञा विस्तारै हट्दै गइरहेको छ । मन्त्रालयका अनुसार विगत २४ घण्टामा दुई हजार २११ जना निको भएका छन् ।

योसँगै नेपालमा कोरोनाबाट निको हुनेको सङ्ख्या छ लाख ११ हजार ४२९ पुगेको छ । यही अवधिमा मुलुकभर २३ जना सङ्क्रमितको मृत्यु भएको छ ।

योसहित नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या नौ हजार २४८ पुगेको छ । मन्त्रालयका अनुसार सात हजार ४९९ जनाको पीसीआर र चार हजार २८ जनाको एन्टिजेन विधिबाट गरी कुल ११ हजार ५२७ जनाको कोरोना परीक्षण भएको थियो।

सोमबार काठमाडौँमा ३७८, भक्तपुरमा ६० र ललितपुरमा १२४ गरी काठमाडौँ उपत्यकामा ५६१ जना सङ्क्रमित थपिएका छन् ।

 देशभरका अस्पतालका आईसीयूमा ५७१ र भेन्टिलेटरमा १८० जना सङ्क्रमित उपचाररत छन् । त्यस्तै हालसम्म २६ लाख ११ हजार ८०७ जनामा कोरोनाविरुद्धको पहिलो मात्रा र सात लाख ५९ हजार ९५४ जनामा दोस्रो मात्रा खोप लगाइएको छ । गोरखापत्रमा खबर छ ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलवार ०७:५४