सूचनाको शक्ति - The Power Of Information

        

माथिल्लो तामाकोशी जलविद्युत्

विद्युत् उत्पादन र वितरणमा स्तरवृद्धि हुनु राष्ट्रिय खुशी हो, सबै खुशी होऔं : ओली

पहिलो चरणमा ७६ मेगावाट विद्युत् उत्पादन शुरू

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुचर्चित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको उद्घाटन गर्दै विद्युत् उत्पादन र वितरणमा स्तरवृद्धि हुनु राष्ट्रिय खुशी भएको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले कम्प्युटरमा क्लीक गरेपछि दोलखाको लामाबगरमा रहेको आयोजनाबाट विद्युत् उत्पादन शुरू भएको छ ।

४५६ मेगावाट क्षमताको आयोजनाबाट पहिलो चरणमा ७६ मेगावाट विद्युत् उत्पादन शुरू भएको छ । उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘विद्युत् उत्पादन र वितरणमा स्तरवृद्धि भएको छ, यो राष्ट्रिय खुशी हो, सबै खुशी होऔं ।’

आयोजना निर्माण सम्पन्न हुन अलि ढिलो भएको बताउँदै ओलीले यसबाट पाठ सिक्नुपर्ने बताए ।

विद्युत् वितरणमा सन्तुलन नमिल्दा छिनछिनमा बत्ती जाने/आउने गरेको उनले बताए । ‘कहीँ न कहीँ सन्तुलनमा गडबडी छ, त्यही भएर जाने होला,’ उनले भने, ‘अब हामी टुकी देशबाट टुकीरहित देशमा परिणत हुँदैछौं ।’

विद्युत् उत्पादन बढाएर स्वदेशमा विद्युत् महशुल घटाइने ओलीले बताए । ‘अलि पछाडि हामी डिमान्ड चार्ज राख्ने छैनौं, उद्योगमा बढी चार्ज गरिराखेका छौं, त्यसलाई घटाउँछौं ।

निर्यात सस्तोमा गर्ने र उपभोक्तालाई महंगोमा बेच्ने कुरा हुँदैन । हाम्रो उपभोक्तालाई झन् सस्तो दिन्छौं । अहिलेको परिस्थितिले केही मिलाउन नसकेको हो ।’

प्रकाशित मिति : २१ असार २०७८, सोमबार १८:२८