सूचनाको शक्ति - The Power Of Information

        

थपिए २६ सय २२ संक्रमित, २३ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २६ सय २२ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रकाशन गरेको विवरण अनुसार पीसीआर र एन्टिजिन गरी ११ हजार ५ सय २७ जनामा गरिएको परीक्षणमा २२ दशमलव ७४ प्रतिशत व्यक्तिमा संक्रमण देखिएको हो ।

निषेधाज्ञा खुकुलो भए पछि आइतबार कम संक्रमित भेटिएका थिए । तर सोमबार संक्रमितको संख्या ह्वात्तै बढेको छ । सोमबार काठमाडौं उपत्यकामा ५ सय ६० जनामा संक्रमण देखिएको छ । जसमा काठमाडौका ३ सय ७८, ललितपुरका १ सय २४ र भक्तपुरका ६० जना रहेका छन् ।

उपत्यकापछि झापा, मोरङ्, चितवन र कास्की जिल्लामा बढी संक्रमित भेटिएका छन् । परीक्षणको तुलनामा गण्डकी र कर्णाली प्रदेशमा बढी संक्रमण देखिएको छ । सो अवधिमा २ हजार २ सय ११ जनाले संक्रमण जितेका छन् ।

योसँगै हालसम्म नेपालमा कूल संक्रमितको संख्या ६ लाख ८५ हजार ३ सय ६१ पुगेको छ भने ६ लाख ११ हजार ४ सय २९ जनाले संक्रमण जितेका छन् । कूल संक्रमित संख्याको ९४ दशमलव ६ प्रतिशत व्यक्ति संक्रमणमुक्त भएका छन् ।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको छ । यो सँगै ९ हजार २ सय ४८ जनाको मृत्यु भएको छ । हाल देशभर २५ हजार ६ सय ९० जना सक्रिय संक्रमित छन् ।

जसमा २२ हजार ९ सय ९८ जना होम आइसोलेसनमा छन् भने २ हजार ६ सय ९२ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

तीमध्ये ५ सय ८१ जना आइसियू र १ सय ८० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । हाल झापा , मोरङ् , सुनसरी , काठमाडौ , भक्तपुर , ललितपुर , चितवन र कास्की जिल्लामा ५ सय माथि संक्रिय संक्रमित छन् ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार १८:२५