सूचनाको शक्ति - The Power Of Information

        

सीमामा रोकिएन तस्करी

‘नाइके तस्कर’लाई जमुनाह प्रहरीको साथ, कोठा भाडामा लिएर अवैध सामानको गोदाम

बाँके । कोभिड–१९ को महामारीका कारण नेपाल–भारत सीमा नाका गत दुई महिनाभन्दा बढी समयदेखि बन्द गरिए पनि सीमापारिबाट हुने तस्करी भने रोकिएको छैन । बाँके जिल्लामा भारतसंँग जोडिएको ६५ किलोमिटरको सीमा नाकाका ठाउँठाउँमा सुरक्षा पोस्ट छन् ।

राजस्व छलेर अवैधरूपमा भित्रिने सामान प्रहरीले कहिलेकाहीँ नियन्त्रणमा लिँदै आए पनि तस्करले त्यस्ता सामान भित्र्याउन भने छाडेका छैनन् । इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज सई सन्तोष खनाल र असई केशरबहादुर थापाको संरक्षणमा अवैधरूपमा सामान भित्र्याउने तस्करहरूले नेपालगन्जमै गोदाम बनाएर तस्करीका सामान राख्ने र त्यहाँबाट विभिन्न ठाउँमा पठाउने गरेको खुलासा भएको छ ।

नेपालगन्ज–७ स्थित अरबिन्द पछाईको घरमा कोठा भाडामा लिएर सामान जम्मा गर्दै आएका नेपालगन्ज–१५, जमुनाह निवासी मोनु कबडियाको गोदाममा छापा मारेर आठ लाख रुपैयाँका अवैध सामान जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले शनिबार दिउँसो बरामद गरेपछि सई खनाल र असई थापाको संरक्षणमा उक्त तस्करीको खुलासा भएको हो ।

उक्त गोदाममा छापा मार्दा विभिन्न मोटरसाइकल तथा गाडीका पाटपुर्जा, कपडा, छाता लगायतका सामान नियन्त्रणमा लिएको थियो । सई खनाल र असई थापाको संरक्षणमा रहेका तस्करलाई जिल्ला प्रहरी कार्यालयको टोलीले अहिलेसम्म फेला पार्न सकेको छैन । तस्कर मोनुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

बरामद गरिएको उक्त सामान आवश्यक कारवाहीको लागि प्रहरीले नेपालगन्ज भन्सार कार्यालय बाँकेमा पठाइसकेको छ । नेपाल प्रहरीले नेपाल–भारत सीमा नाकाको ६४ किलोमिटर क्षेत्र हेर्नुपर्ने भएकाले कुन नाका भएर अवैधरुपमा उक्त सामान भित्रिएको हो भन्ने एकीन गर्न नसकिने जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले शनिबार दिउँसो नेपालगन्ज–७ बाट बरामद गरेको भन्सार छली सामान ।

नेपालगन्ज–१५ स्थायी घर भएका मोनु कवडियाले प्रहरीको सेटिङ्गमा जमुनाहा नाकाबाट उक्त अवैध सामान भित्र्याएको प्रहरी स्रोत बताउँछ । इलाका प्रहरी कार्यालय कम्दीबाट सरुवा भएर जमुनाहाको इन्चार्ज सई सन्तोष खनालले प्रहरी चौकी खडैचाबाट सरुवा भएर आएका असई केशरबहादुर थापालाई सेटिङ्गको चाँजोपाँजो मिलाउँदै आएको स्रोतले जनाएको छ ।

प्रहरी उच्च अधिकारीसँगको पहुँच र सेटिङ्गमा कमाउ अड्डा ताक्ने सई खनाल यसअघि इलाका प्रहरी कार्यालय धामपुर, इलाका प्रहरी कार्यालय कम्दी हुँदै इलाका प्रहरी कार्यालय जमुनाहा पुगेका छन् । उनीसँगै असई थापा प्रहरी चौकी खडैचाबाट इलाका प्रहरी कार्यालय जमुनाहा पुगेलगत्तै उनीहरुकै सेटिङ्गमा तस्करी मौलाउन थालेको छ ।

प्रहरीले शनिबार दिउँसो नेपालगन्ज उपमहानगरपालिका–७ बाट अवैध भन्सार छलीको सामान बरामद गरेपछि तस्करीमा संलग्न मोनु कवडिया र जमुनाहा प्रहरीबीचको सेटिङ्ग खुलेको हो । ३२ बर्षिय मोनुको स्थायी घर नेपालगन्ज–१५ मा हुँदाहुँदै जमुनाहा प्रहरीसँगको मिलेमतोमा अवैध सामान तस्करीकै लागि नेपालगन्ज–७ मा कोठा भाडामा लिएको पनि खुलेको छ ।

साइगाउँ, हिरमिनिया, खडैचा, जमुनाहा लगायतका नाकाहरुबा अवैध सामान नेपाल भित्र्याउँदै असई थापा सीमा क्षेत्रका ठूला तस्करहरुसँग साँठगाँठ गरिरहेको पनि प्रहरी स्रोत बताउँछ । ‘नेपाल–भारत खुला सीमा भएको तस्करी तथा चोरी निकासी पूर्णतः रोक्न असम्भव छ । तर, सेटिङ्गमै मिलेमतो गर्नु प्रहरी आचरण विपरित हो,’ एक जना प्रहरी अधिकारीले भने ।

‘बिहान ३–६ बजेसम्म विभिन्न नेपाल–भारत सीमानाका भएर नेपालगन्जसम्म अवैध सामान भित्रिँदै आएको छ । प्रहरीले लाइन दिएपछि ‘नाइके तस्कर’ले १२–१५ बर्षका बालबालिका र वयस्क व्यक्तिमार्फत साइकलमा अवैध सामान भित्र्याउँदै आएका छन् । प्रहरीको मिलेमतो नभएर कसरी सम्भव हुन्छ,’ नाम नछाप्ने सर्तमा जमुनाहाका एक जना जानकारले भने ।

जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले शनिबार दिउँसो नेपालगन्ज–७ बाट बरामद गरेको भन्सार छली सामान ।

उनले तस्करीबारे सीमा क्षेत्रका स्थानीय सबैलाई थाहा छ । ‘तर, प्रहरीले अवैध ओसारपसारमा संलग्न तस्करलाई लाइन दिएपछि स्थानीयहरुको केही चल्दैन । प्रहरीलाई खबर गरिहाले पनि उल्टै हप्की खानुपर्छ,’ उनले भने । सीमा क्षेत्रबाट दिनहुँ खाद्यान्न, लत्ताकपडा, मेसिनरी लगायत नुनदेखि सुनसम्म तस्करी भइरहँदा पनि प्रहरी ‘मूकदर्शक’ बनेको स्थानीयको आरोप छ ।

प्रहरीले कहिलेकाहीँ थोरै मात्रामा सामान बरामद गर्ने गरे पनि मुख्य तस्कर भने अहिलेसम्म समातिएका छैनन् । तस्करहरू प्रहरी अधिकारीसँग ‘लाइन’ मिलाएर निर्धक अवैध कारोबार गर्दै आएका छन् । जमुनाहा प्रहरीले अवैध तस्करीको लाइन दिएकै कारण तस्करहरू लुकेर होइन, देखाएरै तस्करी गर्दै आएको जानकारहरु बताउँछन् ।

इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज सई खनालले प्रहरीले लाइन दिएको भन्ने कुरा गलत भएको बताए । उनले सशस्त्र प्रहरीलाई इंगित गर्दै भने, ‘सीमामा हाम्रो भूमिका समन्वयजस्तै हो । सीमामा हुने अपराध, चोरी तस्करी नियन्त्रणमा सशस्त्रको भूमिका धेरै छ । तर सशस्त्रको भूमिका कमजोर छ । हामी एक्लैले कहाँ रोक्न सक्छौं र ?’

मुख्यतः सीमा नाकामा हुने अवैध गतिबिधि र तस्करी नियन्त्रण तथा रोकथाम गर्न सशस्त्र प्रहरीले नसकेकोमा बदनाम छ । नेपाल प्रहरीले पनि तस्करसँग सेटिङ गरी लाइन दिने गरेको आरोप लाग्दै आएको छ । असई थापाकै सेटिङ्गमा नेपाल–भारत सीमा नाकाबाट दिनदहाडै तस्करी मौलाउँदै जान थालेको सीमा क्षेत्रका नागरिकहरुको गुनासो छ ।

प्रहरीले यसअघि पनि पटकपटक ठूलो परिमाणमा यस्ता अवैध सामान पक्राउ गर्दै आए पनि राजस्व छलेर सामान ल्याउने क्रम भने रोकिएको छैन । बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले तस्करी रोक्न प्रहरीले विशेष अभियान चलाउने जनाउँदै त्यसका लागि योजना निर्माण भइरहेको पनि बताए ।

जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले शनिबार दिउँसो नेपालगन्ज–७ बाट बरामद गरेको भन्सार छली सामान ।

यसैगरी भारतबाट कुखुरा, अन्डा र चल्लाको आयातमा कडा रोक लगाइए पनि दैनिक सयौँको सङ्ख्यामा कुखुरा र अन्डासमेत भारतबाट अवैधरूपमा भित्र्याइने गरिएको छ । दैनिकजसो बिहान ३ देखि ६ बजेभित्र सिमाका विभिन्न सहायक नाकाबाट मोटरसाइकल, साइकल र ट्याक्टरमा समेत राखेर अवैधरूपमा कुखुरा, चल्ला र अन्डा नेपाल ल्याउने गरिएको छ ।

सिमानामा खटिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण वागेश्वरी बाँकेको गस्ती टोलीले पनि पटकपटक अवैध सामान पक्राउ गर्दै आएको गणका प्रमुख एसपी अशोक बमले बताए । नाकाको पूरै क्षेत्रमा सशस्त्र र नेपाल प्रहरीको निगरानी हुँदा पनि यतिधेरै सामान अवैधरूपमा भित्रिनु रहस्यमय भएको नेपालगन्जका कपडा व्यवसायी कृष्णप्रसाद श्रेष्ठले बताए ।

त्यसो त इलाका प्रहरी कार्यालय जमुनाहको इन्चार्ज भएलगत्तै सई सन्तोष खनाल विवादमा आइसकेका छन् । उनले जिम्मेवारी सम्हालेको हप्ता दिन नपुग्दै आफ्नो दायित्व र जिम्मेवारी बिर्सन थालेको समाचार बाहिरिएका थिए । उनले मातहतका प्रहरी कर्मचारीलाई नेमप्लेट हटाएर ड्युटी गराउन थालेपछि उनी विवादमा तानिएका थिए ।

नाकाबाट हुने अवैध असुलीको सेटिङ मिलाउँदै उनले नेमप्लेट नलगाएर मातहतलाई ड्युटी गर्न पठाउने गरेको आरोप छन् । पोशाकको नेमप्लेट हटाउन लगाएपछि जमुनाहा गएको एक साता नबित्दै सई खनाल विवादित बनेका थिए । अवैध असुलीका क्रममा आफ्नो नाम सार्वजनिक हुने डरले सई खनालले मातहतका प्रहरी अधिकारीलाई नेमप्लेट हटाउन लगाएको आरोप छ ।

मोटो रकमको सेटिङमा कम्दी प्रहरीको इन्चार्जबाटै सिधै जमुनाह प्रहरीको इन्चार्ज भएर गएका सई खनालले हप्ता दिन नवित्दै सेटिङ मिलाउन थालेपछि अहिले सीमा क्षेत्रमा तस्करी मौलाउन थालेको चर्चा चलेको छ । सई खनालको ध्यान कसरी सेटिङ मिलाएर पैसा कुम्ल्याउने भन्नेमा केन्द्रीत हुने गरेको प्रहरीभित्रै चर्चा हुन्छ । उनले रोजगारीको शिलशिलामा भारत जानेहरुबाट रुपैडियाँमा ट्राभल्ससँग कमिशनमा सेटिङ मिलाएर पठाउने गरेको पनि उनीमाथि आरोप छ ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार १८:२५