सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेसको समायोजन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको समायोजन समितिको बैठक आज बस्दैछ ।

उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा रहेको समितिको बैठकले अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेकाहरुलाई क्रियाशील सदस्यता दिने सन्दर्भमा देखिएको विवाद समाधानका लागि छलफल गर्नेछ ।

अपरान्ह ४ बजेपछि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा सप्तरी, बारा, काभ्रे, काठमाडौं, रुपन्देही लगायतका जिल्लामा देखिएको समायोजन सम्बन्धी विवादबारे छलफल हुने बताइएको छ ।

अन्य पार्टीबाट प्रवेश गरेकालाई क्रियाशील सदस्यता दिने विषयको विवादमा दुवै पक्षसँग छलफल गरेर आवश्यक निर्णय लिने समायोजन समितिको तयारी छ ।

कांग्रेसले तत्कालीन लोकतान्त्रिक फोरमबाट आएकालाई समायोजन गर्न निधिको संयोजकत्वमा बनाएको समितिले राप्रपासहित अन्य पार्टीबाट कांग्रेस प्रवेश गर्नेको हकमा पनि काम गरिरहेको छ ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार १२:३४