सूचनाको शक्ति - The Power Of Information

        

सुजिताको हत्यारा पत्ता लगाउन माग गर्दै आफन्तले गरे राजमार्ग अवरूद्ध

चितवन । अपहरणमा परेको भनिएकी चितवन राप्ती नगरपालिका ३ प्रगतीपुर की २२ वर्षीया सुजिता भण्डारी मृत अवस्थामा फेला परेसँगै उनको हत्या भएको भन्दै आफन्तले प्रदर्शन गरेका छन् ।

हत्यारालाई तुरुन्त पक्राउ गरी कारवाही गर्न माग गर्दै उनीहरुले पूर्व–पश्चिम राजमार्ग नै अवरूद्ध गरेका छन् ।भण्डारी बेपत्ता भएकोबारे प्रहरीलाई खबर गरे पनि समयमै खोजबिन नगरेको आरोप स्थानीयहरूको छ। उनीहरूले पूर्वपश्चिम राजमार्गको गड्यौलीमा ट्रक र ढुंगामुढा तेर्साएर अवरोध गरेका छन्।

प्रहरीले घटना सामसुम पार्न खोजेको आरोप लगाउँदै उनीहरूले भण्डारीको शव नबुझ्ने बताएका छन्। भण्डारीको घरबाट करिब ४ किमी पर ब्रम्हस्थानी सामुदायिक वनको खोल्सामा उनको शव भेटिएको थियो ।

असार ११ गते बिहान तरकारी किन्न निस्किएकी उनले दिउँसो सवा १२ बजे दिदी कवितालाई फोन गरेर आफू अपहरणमा परेको जानकारी गराएको परिवारले बताउँदै आएको थियो ।

परिवारले अपहरण भएको भन्दै केहिदिन पहिले प्रहरीमा उजुरी पनि गरेका थिए । ३ जनाले अपहरण गरेको आशंका परिवारले गरेको थियो ।

उनी घरबाट निस्किएको केही बेरमै उनको फोन अफ भएको थियो । त्यसपछि केही बेरमा मिस्कल आएपछि कल ब्याक गर्दा आफू अपहरणमा परेको बताएकी थिइन् ।

आइतबार दिउँसो भेटिए पनि परिवारले साँझमात्रै शव सुजाताकै भएको भनेर सनाखत गरेका थिए ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनको शव पोष्टमार्टमको लागि भरतपुर अस्पताल जान लागिएको छ । तर आफन्तले शव बोकेको एम्बुलेन्स नै रोकिदिएका छन् ।

उनको खोजविन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोली खटिएको थियो । सोही टोलीले घटनाको अनुसन्धान गर्नेछ । घटनाबारे प्रहरीले अन्य कुनै सुराकी फेला पारेको सार्वजनिक गरेको छैन ।

स्थानीय रामेश्वर सेन्चुरीका अनुसार राजमार्गबाट साढे तीन किमी पर उनको शव फेला परेको थियो ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार १२:३२