सूचनाको शक्ति - The Power Of Information

        

जहाज कुर्दाकुर्दै साउदीमै अस्ताए बिन्देश्वर !

दोहा । रोजगारीको सिलसिला साउदी अरबमा पुगेका एक नेपाली श्रमिकको मृत्यु भएको छ । साउदीको रियादस्थित अल हाईडेर कम्पनीमा कार्यरत सिरहा कल्याणपुर नगरपालिका–४ डरौलका ४८ बर्षीय बिन्देश्वर महराको मृत्यु भएको हो । विगत १६ वर्षदेखि त्यहाँ कार्यरत रहेका महरा साउदीको बसाइ बिट मारेर घर फर्किने तयारीमा रहेका बेला एक्कासी मृत्युको खबर आएको मृतकका ज्वाइँ सञ्जयले जानकारी दिए ।

उनलाई उच्च रक्तचापका कारण कम्पनीले एक साताअघि साउदीको एक अस्पताल भर्ना गरेको थियो । कम्पनीले स्वास्थ्यमा क्रमिक सुधार भैरहेको बताइरहेको बेला एक्कासी मृत्युको खबर आएपछि परिवार विक्षिप्त भएको उनले बताए । मृतक महरा गत वैशाखमै स्वदेश फर्किने तयारीमा रहे पनि कोरोना संक्रमणका कारण नेपाल सरकारले हवाई उडानमा प्रतिबन्ध लगाएपछि साउदीमै रोकिएका थिए । मृतकका श्रीमती, ३ छोरी र १ छोरा छन् ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार ०९:१२