बाँके । तीनवटा पोखरी निर्माण गरी पाँच वर्ष पहिले माछापालन सुरु गरेका बाँके जानकी गाउँपालिका–५, रामगाउँका हमिद अली हलुवाईले वार्षिक पाँच लाख रुपैयाँ आम्दानी गरिरहेका छन् । माछापालनबाट मनग्गे आम्दानी भइरहेकाले उनलाई घरखर्च चलाउन कुनै समस्या छैन । एक बिघा जग्गामा तीनवटा पोखरी निर्माण गरी माछापालन सुरु गरेका हलुवाईलाई सुरुमा माछाबाट त्यति नाफा हुन सकेको थिएन ।
कृषि कार्यालयले दिएको माछापालन सम्बन्धी तालिम लिएपछि माछापालनबाट अहिले उहाँको आम्दानी वार्षिक पाँच लाख पुगेको छ । सुरुमा जानकारी नहुँदा बाढीले माछाका भुरा बगाउने तथा उत्पादन पनि कम हुने गरेको थियो तर पछि जानकारी हुँदै गएपछि उत्पादन बढ्दै गयो र नाफा पनि वृद्धि हुँदै गएपछि अहिले राम्रो आम्दानीको स्रोत बनेको उनले बताए ।
आम्दानी बढ्दै गएको देखेर ५४ वर्षीय हलुवाईमा माछापालन र कृषि उत्पादन बढाउने जोश झनै बढ्दै गइरहेको छ । पुरानो पोखरीमा माटो पाटेर नयाँ तीनवटा पोखरीमा माछापालन गरिरहेका उनले भने, ‘अहिले उत्पादन अत्यन्त राम्रो हुँदै गएको छ, धेरै खुसी छु ।’ पोखरीमा अहिले कमन कार्प, ग्रास कार्प, सिल्भर कार्प, विगहेड कार्प, रोहु, नैनी र भाकुर गरी सात प्रजातिका २० हजार माछाका भुरा छन् ।
यो वर्षमात्रै उनले आठ क्विन्टल ८७ किलो थोक मूल्य र आठ क्विन्टलको हाराहारीमा फुटकर मूल्य गरी करिब १७ क्विन्टल माछा बिक्री गरिसकेका छन् । उनले उत्पादन गरेका माछा जानकी, नेपालगन्ज, खजुरा र कोहलपुर लगायतका क्षेत्रमा बिक्री हुने गरेको छ । बजारको कुनै पनि समस्या नभएको जनाउँदै उनले आगामी वर्षदेखि थप दुई पोखरीमा माछापालन बढाउने योजना बनाएको सुनाए । माछापालनबाहेक कृषि उत्पादन, बाख्रापालन र कुखुरापालनका लागि पनि उनले विभिन्न फार्म दर्ता गरी पशुपालनमा लाग्ने सोच बनाएका छन् ।
।