बाँके । अग्रपंक्तिमा खटिएर कोरोना संक्रमितको उपचारमा संलग्न सबै स्वास्थ्यकर्मीले जोखिम भत्ता पाएका छैनन् । कतिपय अस्पतालका स्वास्थ्यकर्मीले गत असोजसम्मको भत्ता पाएका छन् भने कतिपयले नियमित तलब मात्रै । कतिपय अस्पतालमा त सरकारले अहिलेसम्म एक रुपैयाँ पनि पठाएको छैन, त्यहाँ स्वास्थ्यकर्मीलाई नियमित तलब पाउन पनि धौ–धौ छ ।
अस्पतालमा प्रयोगशाला, एक्सरे र कोभिड–१९ का बिरामी हेर्ने स्वास्थ्यकर्मीले शतप्रतिशत, प्राविधिकले ७५ र प्रशासनका कर्मचारीले ५० प्रतिशतका दरले जोखिम भत्ता पाउने बताइएको थियो । तर सरकारले दिने भनेको जोखिम भत्ता हालसम्म पनि नपाएको नेपालगन्जस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मीहरुको गुनासो गरेका छन् ।
गत दुई वर्षदेखि दिनरात कोभिड नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीले हालसम्म दुई महिनाको मात्रै जोखिम भत्ता पाएको भेरी अस्पतालका फिजिसियन डा.पारस श्रेष्ठले गुनासो गरे । उनले गत आर्थिक वर्ष २०७६/०७७ को दुई महिनाको मात्र जोखिम भत्ता पाएको जनाउँदै चालू आर्थिक वर्षको जोखिम भत्ताबापत कुनै पनि रकम नपाएको बताए ।
डा.श्रेष्ठले भने, ‘दुई वर्षमा दुई महिनाको भत्ता दिएर स्वास्थ्यकर्मीलाई भुलाउने काम मात्र गरिएको छ, ज्यानको माया मारेर काम गर्दा पनि सेवा सुविधा नपाउँदा दुःख लाग्छ ।’ उच्च जोखिममा घरपरिवारसमेत छाडेर महामारी नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीलाई हालसम्म जोखिम भत्ता नदिनु दुखद् भएको उनले बताए ।
भेरी अस्पताल विकास समिति कर्मचारी युनियनका अध्यक्ष वरिष्ठ स्वास्थ्यकर्मी होमनाथ सुवेदीले हालसम्म दुई महिनाको मात्रै जोखिम भत्ता पाएकाले अधिकांश स्वास्थ्यकर्मीको मनोबल घटेको बताए । उनले पहिलो लहर र दोस्रो लहरको अत्यन्तै भयावह अवस्थामा काम गरे पनि सुविधा नपाउँदा धेरैको मन दुखेको जनाए ।
उता नेपालगन्ज उपमहानगरपालिकाका दुई सय बढी स्वास्थ्यकर्मीहरूले पनि चालू आर्थिक वर्ष २०७६/०७७ को जोखिम भत्ता नपाएको गुनासो गरका छन् । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले २३ वटा वडाका स्वास्थ्य संस्थामा काम गर्ने करिब १०० बढी स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको बताए ।
होम आइसोलेसनमा बस्नेका लागि खटिएर काम गर्दै आएकी नेपालगन्ज–१२, बेलासपुर स्वास्थ्य चौकी इन्चार्ज आरती चौधरीले पनि हालसम्म जोखिम भत्ता प्राप्त नगरेको गुनासो गरिन् । नेपालगन्ज उपमहानगरका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले सरकारले समयमा रकम नपठाएका कारण उपलब्ध गराउन नसकिएको बताएका छन् ।
भेरी अस्पतालका प्रमुख डा.प्रकाश थापाले सरकारले जोखिम भत्ताका लागि भनेर छुट्टै रकम नपठाएको जनाउँदै शोध भर्ना गरी दुई महिनाको जोखिम भत्ता दिइएको बताए । उनले देशभरमै भेरी अस्पतालमा मात्रै जोखिम भत्ता दिइएको जनाउँदै आगामी दिनमा बेरुजु निस्किए सो रकम पनि फिर्ता गर्नुपर्ने अवस्था आउने बताए ।
सरकारले जोखिम भत्ताका लागि भनेर छुट्टै रकम नपठाएको र त्यही रकमबाट अस्पताल व्यवस्थापनका सबै कामहरू गर्नुपर्ने भएकाले मागअनुसारको जोखिम भत्ता दिन नसकिएको अस्पतालका प्रमुख थापाको भनाइ छ । महामारीमा जोखिम मोलेर काम गरे पनि समयमै भत्ता नपाउँदा स्वास्थ्यकर्मीहरुको मनोबल खस्किएको उनले बताए ।
।