सूचनाको शक्ति - The Power Of Information

        

सभापति देउवाको निर्देशन, ‘क्रियाशील सदस्यता विवाद समयमै टुङ्ग्याउनुस्’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र भएको क्रियाशील सदस्यता विवाद समयमै टुङ्गोमा पुर्याउन समितिलाई निर्देशन दिएका छन् । शनिबार देउवा निवास बुढानिलकण्ठमा आफू निकट नेताहरुसँगको छलफलमा समितिलाई समयमै विवाद टुङ्ग्याउन निर्देशन दिएका हुन् ।

क्रियाशील सदस्यता छानविन समिति संयोजक रमेश लेखकसहित समितका अन्य पदाधिकारीसँग देउवाले कुरा गरेका थिए । समितिले विवाद भएका वडाहरुमा १३औँ महाधिवेशनकै आधारमा निर्वाचन गराउन सकिने सुझाव दिएको छ तत्कालिन फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदार र राप्रपाबाट सुनील थापाको नेतृत्वमा आएका सदस्यसहितलाई क्रियाशील सदस्यता वितरण गर्नुपर्ने अवस्था छ ।

कांग्रेसले गच्छदारलाई २५ हजार र थापालाई १० हजार क्रियाशील सदस्यता दिने निर्णय गरेको थियो । ‘तोकेकै समयमा महाधिवेशन गर्नु पर्ने संवैधानिक वाध्यता भएकाले समयमै क्रियाशील सदस्यता विवादको टुङ्गो लगाउनुहोस्,’ सभापति देउवालाई उदृत गर्दै स्रोतले भनेको छ ।

वैठकमा सहभागि भएका छानविन समितिका संयोजक लेखकसहित चारै जनाले देशभरको क्रियाशील सदस्यताका बारेमा ब्रिफिङ गरेका थिए । संयोजक लेखकले ५०० वडामा सदस्यताबारे विवाद रहेकोमा ३५० मा जटिल प्रकृतिका विवाद रहेको जानकारी गराएको पनि स्रोतको भनाइ छ ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार १९:०४