सूचनाको शक्ति - The Power Of Information

        

समाचार

बनगाड कुपिण्डे नगरपालिकामा किन थुनिए छाडा पशु चौपाया ? (फोटो तथा भिडियोसहित)

देवस्थल (सल्यान) । बनगाड कुपिण्डे नगरपालिकाले छाडा पशु चौपाया व्यवस्थापन गर्न नसकेको भन्दै स्थानीय नागरिकहरु आक्रोशित बनेका छन् । चार बर्षदेखि नगरपालिकाले छाडा पशु चौपायाको समस्या समाधान चासो नदेखाएको भन्दै आक्रोशित बनेका हुन् ।

जनप्रतिनिधिहरुले पशु चौपायाको राम्रो व्यवस्थापन नगर्दा नगरवासी छाडा पशु चौपायाका कारण हैरान भएपछि शुक्रबार स्थानीयहरुले नगरपालिका परिसरमै छाडा पशु चौपाया थुनेर विरोध स्वरुप आन्दोलनमा उत्रिएका छन् । बालीनाली सखाप पारिदिएको स्थानीय किसानहरूले छाडा पशु चौपायालाई शुक्रबार नगरपालिकामा लगेर थुनेका हुन् ।

छाडा पशु चौपायको उचित व्यवस्थापन नगरिँदा किसानहरुले लगाएको अन्नबाली सखाप हुनुका साथै रोपाइँका बेला ध्यानको ब्याड नष्ट गर्दासमेत नगरपालिकाले छाडा छोडिएका व्यवस्थापन नगर्दा स्थानीयले १५० बढी छाडा पशु चौपाया नगरपालिकामा लिएर थुनेको बनगाड कुपिण्डे नगरपालिका–१ का स्थानीय बालकृष्ण बुढाले बताए ।

विगत तीन बर्षदेखि आफुहरुले लगाएको हिउँदे तथा बर्खेबाली सखाप पारिदिएको भन्दै छाडा छोडिएका छाडा पशु चौपायालाई स्थानीय किसानहरूले नगरपालिकामा लगेर थुनेका हुन् । छाडा पशु चौपायालाई व्यवस्थापन गर्न नगरपालिकालाई पटकपटक आग्रह गर्दा पनि चासो नदिएपछि आक्रोशित बनेर किसानहरूले नगरपालिकाको परिसरमा लगेर थुनेका हुन् ।

‘हामीले तीन बर्षदेखि नगरपालिकालाई यी पशु व्यवस्थापन गर्न भन्दै आएका थियौं । तर नगरपालिकाले हाम्रो कुरा सुन्दै सुनेन,’, स्थानीय मेघराज बुढाले भने, ‘हामीले सबै छाडा पशु चौपाया केहि समय घरमा बाँधेर राखेका थियौं तर अब राख्न नसक्ने अवस्था भएपछि नगरपालिकामा ल्याएर छोडेका हौं ।’

छाडा पशु चौपायाले बनगाड कुपिण्डे नगरपालिकाको नम्बर १ का आम्रा, घाटगाउँ, बुरेली, देवस्थल, बस्नेउरा, खहरेखोला, माल्पे तथा वडा नम्बर ४, ५ र ६ का प्राय गाउँको खेतमा लगाएको बाली सखाप पारेको देखिन्छ । आफुहरुले दुखले गरेको खेती सधैं छाडा पशु चौपायाले खाइदिने गरेको र त्यसको व्यवस्थापन गरिदिन स्थानीयले माग गरिरहेका छन् ।

उनीहरुले स्थानीय सरकारले छाडा पशु चौपायाको समस्याप्रति चासो नदेखाए कडा कदम चाल्ने चेतावनी पनि दिएका छन् । स्थानीयहरुले छाडा पशु चौपायालाई नरपालिकाले व्यवस्थापन गर्नुपर्ने भन्दै कार्यालयमै पुगाईएको उनले बताए । नगरपालिकाभित्रका छाडा पशु चौपायाको समस्यालाई हटाउन वास्ता नगरेपछि हैरान भएका नगरबासीले छाडा पशु चौपायालाई नगरपालिका कार्यालयमै थुनेर तत्काल उचित व्यवस्थापनको माग गरेका छन् ।

 

प्रकाशित मिति : १९ असार २०७८, शनिबार ०८:५२