सूचनाको शक्ति - The Power Of Information

        

एमाले केन्द्रीय कमिटी बैठक आज, नेपाल समूहले बहिष्कार गर्ने

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षले आजका लागि बोलाएको केन्द्रीय कमिटीको बैठकमा माधवकुमार नेपाल–झलनाथ खनाल पक्ष नजाने भएको छ ।

खनाल–नेपाल पक्षीय नेताहरुको हिजो बसेको बैठकले ओली पक्षले बोलाएको बैठक नवौँ महाधिवेशनबाट तय भएको विधान र त्यसका नियमावली विपरीत भएको निश्कर्ष निकालेको हो ।

पार्टी एकताका लागि खनाल–नेपाल पक्षले ओली पक्षलाई पार्टीको केन्द्रीय कमिटी तथा जनसंगठनलाई २ जेठ २०७५ अघिको अवस्थामा क्रियाशील तुल्याउन ६ बुँदे प्रस्ताव अघि सारेको थियो ।

तर अध्यक्ष ओलीले पार्टी विधान विपरित गठित दशौं महाधिवेशन आयोजक कमिटिको बैठक र त्यसका निर्णयले पार्टी एकता हासिल गर्न अवरोध पु¥याएकोले बैठकमा सहभागि नहुने निर्णय भएको नेता भिम रावलले बताउनुभयो ।

पार्टीलाई एकताबद्ध रुपमा अगाडी बढाउन उचित र औपचारिक सार्थक वार्ता तथा सहमतिको प्रक्रिया अवलम्बन गरिनुपर्ने खनाल–नेपाल पक्षको भनाइ छ ।

यसैबिच, एमालेका दोस्रो तहका नेताहरूको छलफलले तिव्रता पाएको छ । पार्टी एकता जोगाउन हिजो बिहान र साँझ दुई पपटक नेताहरुबिच छलफल भयो ।

छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट नेताहरू विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेल तथा असन्तुष्ट पक्षबाट घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र भीम आचार्य सहभागी हुनुहुन्थ्यो ।

हिजोको छलफलमा माधव पक्षका नेताहरूले आजका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक सार्न प्रस्ताव राखेका छन् ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार ०८:५१