शुरबहादुर सिंह/दिपेन्द्र शर्मा । सुर्खेत । बुझाइमा प्रजातन्त्र र लोकतन्त्रमा भिन्नता देखिए पनि सामान्यत त्यसको अर्थमा विविधता छैन । अंग्रेजीमा लोकतन्त्र र प्रजातन्त्र दुबैलाई ‘डेमोक्रेसी’ नै भनिन्छ । तर नेपालीमा प्रजातन्त्रभन्दा लोकतन्त्रलाई परिस्कृत शासन व्यवस्थाका रूपमा लिइने गरिएको छ । राजा र प्रजाको ठूलो संघर्षबाट नेपालमा जहाँनिया राणाशासनको अन्त्य गरी २००७ मा स्थापना गरेको प्रजातान्त्रिक व्यवस्था ऐतिहासिक महत्वको घटना हो । यद्यपि त्यही गौरवपूर्ण घटना औपचारिकतामा सीमित हुँदै गएको छ ।
प्रजातन्त्रको अभ्यूदयपश्चात् मात्र नेपाली जनताले स्वतन्त्रताको महसुश गर्न थालेको दिनको महत्व र गरिमाप्रति चासो घट्दै जानुमा कारण के हो भन्ने विषयमा कोही कसैले त्यति सरोकार राखेको देखिँदैन । राणाकालीन १०४ वर्षको शासनविरुद्ध अनवरत संघर्ष गरेका नेपाली जनताको त्याग, समर्पण र बलिदानबाट मुलुकमा प्रजातन्त्रको प्रादुर्भाव भएपछि मात्र नेपालमा राजनैतिक संगठनहरू उम्रन थालेको पाउन सकिन्छ । यद्यपि प्रजातन्त्र प्राप्तिपछि नेपालमा भएका विभिन्न परिवर्तनले प्रजातन्त्र दिवसलाई ऐतिहासिक एवम् महत्वपूर्ण घडीको रूपमा मनाउन छोडेको पाइन्छ । त्यसको अलावा प्रजातन्त्रलाई परम्परागत दिवसका रूपमा मात्र हेर्नेहरू पनि त्यत्तिकै छन् ।
प्रदेश नं ६ का प्रदेश प्रमुख दुर्गाकेशर खनाल नेपालमा प्रजातन्त्र आएको दिन देश र जनताका लागि अत्यन्तै महत्वपूर्ण घटना भएको बताउँछन् । उनी भन्छन्, ‘लोकतन्त्र उरन्ठेउलाहरूको विचार हो । नेपालमा प्रजातन्त्र आउँदा देशले ठूलो फड्को मारेको थियो ।’ उनले थपे, ‘वामपन्थीहरूले २००७ र २०४६ सालको क्रान्तिलाई अपूरो ठान्दै आए जसका कारण सानो देशमा ठूलो समस्याको चाङ लागिरह्यो र पछि गएर त्यो नै देश विकास र समृद्धिको बाधक बन्यो । तसर्थ गम्भीरताका साथ मनन गर्दै ऐतिहासिक महत्व बोकेको उपलब्धिपूर्ण प्रजातन्त्र दिवसलाई सम्मानका साथ मनाउनुपर्छ ।’
प्रजातन्त्र र लोकतन्त्र मात्र सोचाइमा अन्तर भएको उनको भनाइ थियो । उनले प्रजातन्त्रको स्थापनापछि आफूले पहिलो पटक २०१४ सालतिर सुर्खेतमा डा के आई सिंहले स्पिकरमा बोलेको सुन्दा वास्तविक बोलीभन्दा स्पिकरको आवाज अनौठो मान्दै सुनेको अनुभूति सुनाए । त्यसैगरी, उनले हरिलाल पन्त, नैनबहादुर सिंह लगायतका योद्धाले प्रजातन्त्र ल्याउनमा अहम् भूमिका खेलेको बताउनुभयो । तिला गाउँपालिका–४, जुम्ला निवासी ८२ वर्षीय रणबहादुर शाहीले नेपालमा २००७ सालमा प्रजातन्त्र आउँदा कर्णालीले भने २००८ सालमा थाहा पाएको जनाए ।
राज्यले मनाउने प्रजातन्त्र दिवस मात्र नभएर अन्य राष्ट्रिय महत्वका दिवस के–के हुन् र कहिले मनाइन्छन् भन्ने कुरासमेत यहाँका ग्रामीण नागरिकलाई थाह नभएको उनले भने । राजा र प्रजाको संघर्षबाट प्रजातन्त्रको उदय भएकाले यसलाई महत्वपूर्ण दिवसका रूपमा मनाउनुपर्नेमा उनको जोड छ । मुलुकमा प्रजातन्त्र, बहुदलीय व्यवस्था र लोकतान्त्रिक गणतन्त्र आए पनि कर्णालीको विकास हुन नसकेको उनको गुनासो थियो । चन्दननाथ नगरपालिका–६, जुम्ला निवासी ज्येष्ठ नागरिक पदमलाल महतले हिजो राज्यले नै सम्मानका साथ मनाउने प्रजातन्त्र दिवस आज राज्यकै नीति निर्माणमा बसेकाले कम मान्यता दिएकाले यो छायाँमा पर्दै गएको आरोप लगाए ।
लोकतन्त्र भन्ने शब्द र दिवस मनाउने कुरा आएपछि प्रजातन्त्र दिवसको महत्व घटेको उनको बुझाइ छ । खासगरी पुरानो पुस्ताले प्रजातन्त्र स्थापनाको दिनलाई महत्व दिँदै आए पनि नयाँ पुस्ताले लोकतन्त्र प्राप्ति भएको दिनलाई बढी महत्व दिएको बताउँछन्, कर्णालीका पुराना वामपन्थी नेता रामकृष्ण बुढ्थापा । उनले मुलुकका परिवर्तनसँगै कार्यशैली र पद्धति पनि बदलिएको जनाए । यद्यपि सर्वमान्य राष्ट्रिय महत्वका घटनाको तौल घटाउन नहुने उनको भनाइ छ । चन्दननाथ नगरपालिका, जुम्लाका प्रमुख कान्तिका सेजुवालले पञ्चायती शासन व्यवस्थामा निकै महत्वका साथ मनाइने प्रजातन्त्र बहुदल आइसकेपछि बहुदलवादीले कम मान्यता दिएको टिप्पणी गरिन् ।
पछिल्लो समयमा झनै औपचारिकतामा मात्र प्रजातन्त्र दिवस मनाइने गरिएको उनले बताइन् । ‘प्रजातन्त्र र लोकतन्त्र एकअर्काका पर्यायवाची शब्द भएकाले राजनीतिक दलहरू एकजुट भएर महत्वका साथ मनाइनुपर्दछ,’ प्रमुख सेजुवालले भनिन् । यसका लागि राज्यका हरेक अंग, प्रत्यंग पनि सशक्त बनाउँदै लैजानुपर्ने उनको सुझाव थियो । ‘उसो त लोकतन्त्र दिवसप्रति पनि नागरिक उत्साह देखिँदैन । यसो हुनुमा मुलुकभित्रको शासन पद्धतिको सही विकास नहुनु नै हो,’ उनले थपिन् । रासस
।