जनकपुरधाम । महोत्तरीमा २५ दिनदेखि बेपत्ता महिलाको शव हत्या गाडिएको अवस्थामा फेला परेको छ । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ बस्ने मुकेश ठाकुरकी श्रीमती २६ वर्षीया सुजिता ठाकुरको शव खेतमा गाडिएको अवस्थामा आइतबार दिउँसो शव फेला परेको हो ।
लामो समयदेखि बेपत्ता सुजिताको दाइजोकै कारणले परिवारले हत्या गरेर शव गायब गरेको माइती पक्षले आरोप लगाउँदै आएको थियो । यद्यपि घर पक्षले सुजिता अर्कै केटासँग भागेको बताउँदै आएको थियो । प्रहरीले खोजी गर्ने क्रममा घरदेखि करिब एक किलोमिटर दूरीमा रहेको ठाकुर परिवारको खेतमा गाडेको शव निकालिएको हो ।
केही वर्षअघि पनि सुजितालाई परिवारजनले हत्या गर्ने प्रयास गरेका स्थानीयले बताएका छन् । सुजिता हत्यामा संलग्न भएको आरोपमा प्रहरीले उनका श्रीमान् मुकेश ठाकुर र देवर रूपेश ठाकुरलाई नियन्त्रणमा लिएको छ भने ससुरा पतिराम भने अझै फरार रहेका प्रहरीले जनाएको छ । सुजिताका ९ वर्षकी छोरी ५ वर्षका छोरा छन् ।
यसरी पत्ता लाग्यो हत्याको रहस्य
महोत्तरी भमरपुराकी सुजिता ठाकुर जेठ २० गतेदेखि बेपत्ता थिइन् । घर पक्षले सुजिता कोही अर्कै केटासँग भागेको बताउँदै आएका थिए । तर माइत पक्षले सुजिताको हत्या परिवारले गरेर लास गायब पारेको आरोप लगाउँदै आएको थियो । सुजिताका बुवा कामेश्वर पाण्डेले छोरी बेपत्ता भएको र हत्या आशंका गर्दै खोजिदिन भन्दै उजुरी दिन जाँदा जिल्ला प्रहरी कार्यालयले दर्ता गर्न नमानेको बताए ।
बुवा कामेश्वरले भने, ‘प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि महिला सेलमा निवेदन दिएर आएँ ।’ उनले तर प्रहरीले चासो लिएर अनुसन्धान नगरेको गुनासो गरे । वैदेशिक रोजगारीको सिलसिलामा साउदी रहेको सुजिताका भाइ जितेन्द्र पाण्डेले सामाजिक संजालमार्फत यस घटना उजागर गर्दै घर पक्षले नै दिदीको हत्या गरी आफ्नै खेतमा गाडेको आरोप लगाए । सुजिताका पाँच वर्षीय छोराको एउटा भिडियो पनि सार्वजनिक गरियो ।
त्यो भिडियोमा ती बालकले आमाको हत्या हजुरबुवा, बुवा र काकाले गरेको बताएका छन् । प्रहरीले सुजिताको खोजतलासमा कुनै चासो नदिएपछि साउदीबाट नै भाइ जितेन्द्रले जनकपुरका चर्चित सामाजिक अभियन्ता सरोज रायलाई सहयोगका लागि आग्रह गरेका थिए । सरोज राय त्यही अभियन्ता हुन्, जसले साउदीमा मृत्युदण्डको सजाय पाएका धनुषाका उमेश यादवलाई ब्लडमनि व्यवस्थापन गरी नेपाल फर्काउन सफल भएका थिए ।
अभियन्ता रायले घटनाबारे थप बुझ्न शुक्रबार सुजिताका माइती रतौली गाउँ पुगेका थिए । उनले सुजिताका बुवा कामेश्वर, आमा र दुई कान्छा भाइ आकाश र शिवमलाई भेटेर घटनाबारे जानकारी लिएका थिए । त्यसपछि शनिबार अभियन्ता रायले प्रदेश न. २ का आन्तरिक मामिला तथा कानुन मन्त्रीलाई भेटेका थिए । यस घटनाबारे ध्यानाकर्षण गराए । अभियन्ता रायले यस घटनाको उठान गरेपछि प्रहरी पनि खोजी गर्न बाध्य भएको थियो ।
शनिबार केही प्रहरी आएर पीडित पक्षले लगाएको बताए अनुसार सुजिताको शव गाडेको ठाउँको निरीक्षण गरेको थियो । अभियन्ता रायको भनाइअनुसार यो जघन्य अपराधको मामिला हो, एकदम ओपन केस हो । ‘यति प्रमाण भएर पनि दोषीलाई सजाय भएन भने प्रहरी प्रशासनबाट सबैको विश्वास उठ्नेछ । यदि जिल्ला प्रहरीले निष्पक्ष अनुसन्धान गरेन भन्ने हामी अन्य निकायसमक्ष जान्छौं, तर यस घटनालाई ढाकछोप गर्न दिँदैनौँ,’ रायले भने ।
घटनाबारे सुजिताको बुवा कामेश्वर पाण्डेले दिएको जानकारी उनकै भाषामा जस्ताको त्यस्तै :
घटना २५ दिन पहिला जेष्ठ २० गते हो । बिहान करिब आठ बजे सुजिताले मलाई फोन गरेर कस्तो घरमा बिहे गराइदिएको भनेर रिस पोखेकी थिइन् । फोनमा कुरा भइरहँदा पछाडिबाट झगडाको पनि आवाज आइराखेको थियो । केही बेरपछि सुजिताको देवर रुपेश ठाकुरले पनि फोन गरेर मलाई तुरुन्त भमरपुरा आउन भन्यो ।
म जाने तरखरमै थिएँ कि फेरि रुपेशको फोन आयो र उनले आउनुपर्दैन झगडा शान्त भयो भन्यो । त्यसदिन सुजितासँग भेट्न हामी कोही गएनौं । भोलिपल्ट सुजिताको मोबाइलमा पटक पटक फोन गर्दा स्विच अफ भनि रह्यो । पछि देवर रुपेशको मोबाइलमा फोन गर्दा पनि उनले उठाएनन् । आधी घण्टापछि रुपेशले आफैं फोन गरेर सुजीताले कोठामा ताल्चा लगाई घर छोडेर भागेको जानकारी दियो ।
तर रातिसम्म पनि छोरीसँग कुरा नभएपछि अर्को दिन बिहान आठ बजे सुजिताको हामी बुढा बुढी (सुजिताको बुवा र आमा) भमरपुरा पुग्यौं । रतौलीबाट भमरपुरा मोटर बाटो नजिकै भएकोले दश मिनेटमा पुग्यौं । सुजिताको कोठामा लागेको ताल्चा फोड्न लगाएँ । सुजिताको कपडादेखि सबै समान यथावत थियो । दराजमा गरगहना पनि यथावत् देखें अनि मलाई मनमा शंका जन्मिन थाल्यो ।
तर घरपक्षले लगातार सुजिता घर छोडेर अर्कै केटासँग भागेको मात्र भनिराखे । दश वर्ष पहिला सुजिताको बिहे पतिराम ठाकुरको जेठा छोरा मुकेशसँग भएको थियो । यस अगाडि करिब १४–१५ महिना पहिले सुजितालाई ससुरा, सासू, श्रीमान् र देवर सबैजना मिलेर कुटपिट गर्दा सुजिताको आँखामा चोट लागेको थियो । उपचारपछि जलेश्वर अस्पतालमा गराएर प्रहरीमा समेतमा उनले निवेदनसमेत दिएकी थिइन् ।
पछि श्रीमान् र देवरले आइन्दा कुटपिट नगर्ने लिखित शर्त गरेर प्रहरीले छोडेको थियो । त्यहीबीचमा सुजिताको चिनजान कतारमा कार्यरत पिपरा गाउँपालिका अलिपट्टी निवासी विजय मुखियासँग सामाजिक सञ्जालमार्फत भएको थियो । बीचबीचमा विजयसँग सुजिताको कुराकानी फोनमार्फत भइरहन्थ्यो । चार–पाँच महिना पहिला विजय कतारबाट गाउँ फर्केका थिए । सुजिता आफ्नो माइती आउँदा विजयसँग एकपल्ट भेटघाट पनि भएको थियो ।
घटनाको एक दिनअघि मात्र सुजिता आफ्नी आमासँग जनकपुर किनमेल गर्न गएकी थिइन् तर घरमा कुनै पनि विवादबारे चर्चा गरिनन् । बारम्बार घर पक्षले विजयसँग भागेको आरोप लगाएपछि सुजिताको बुवाले नै प्रहरीमा निवेदन दिएर विजयलाई पक्राउ गर्न लगाए तर दिनभरिको सोधपुछ पछि विजयलाई सात दिनसम्म गाउँ नछोड्ने सर्तमा रिहा गरिएको थियो । त्यसपछि माइती पक्षको शंका झन् गहिरो हुन् थालेको थियो ।
घटना भएकै दिन सुजिताका ९ वर्षीय छोरी आँचल र ५ वर्षीय छोरा रौनक दुवैलाई घर पक्षले जनकपुर बस्दै आएका फुपू अन्जु ठाकुर कहाँ पठाइदिएका थिए । र अर्को दिन फेरि फर्काएर ल्याएका थिए । घटनाको केही दिनपछि सुजिताको छोरा रौनक रतौली आएका थिए । सुजिताको आमा र छोरा रौनकले आपसमा कुरा गरेको एक भिडियो भाई जितेन्द्रले सार्वजनिक गरे । जसमा रौनकले आमालाई मारेको, जिउमा टेप बाँधेर घाँटी रेटेको, शवलाई फ्रिजमा राखेको पोल खोलेका छन् ।
यो भिडियो जितेन्द्रले फेसबुकमा राखेपछि ससुराली पक्षमा चिसो पस्न सुरु भयो । त्यही बीचमा कसैले फोनबाट सुजिताका बुवालाई जानकारी गराएका थिए । घरपक्षले आफ्नो खेतमा ७–८ फिट गहिरो खाल्डो खनेको थियो, जो अहिले माटोले पुरेर माथिबाट घाँसले छोपिएको छ । सुजिताको शव त्यहीँ गाडिएको थियो । यता सुजिताका भाइ जितेन्द्रले लगातार सामाजिक सञ्जालमा सबै कुरा पोस्ट गरिराखेका थिए । जसबाट ससुराली पक्ष पनि त्रसित भइसकेका थिए ।
त्यसपछि सुजिताका ससुरा पतिरामले कुरा मिलाउन कामेश्वरलाई बारम्बार दवाब दिन थाले । जाने गइसक्यो, अब नाति–नातिनीको जीवन बनाउनुस भनेर कामेश्वरलाई मनाउन पतिरामले पटकपटक प्रयास गरेका सुजिताका बुवा पाण्डे बताउँछन् । त्यही बीचमा जितेन्द्र र रुपेशबीच फोनमा कुराकानी भयो । जसमा जितेन्द्रले दिदीको अन्तिम संस्कार जसरी पनि गर्नुपर्छ । त्यसैले शवलाई गाडेको ठाउँबाट निकाल्न रुपेशलाई अनुरोध गरेका र रुपेशले यस्तो अवस्थामा शवलाई निकाले झन् बबाल हुन्छ भन्दै गरेको सुन्न पाइन्छ ।
दिदीको हत्या नै भएको प्रमाणहरू अगाडि आउन थालेपछि जितेन्द्रले साउदीबाट नै बुवालाई दिदीका ससुरा पतिरामलाई कुनै दबाबमा नआई प्रहरीमा मुद्दा दर्ता गर्न बारम्बार भनेका थिए । असार ७ गते माइतपक्षले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराउन गएका पनि थिए । तर एसपीले दर्ता गर्न मानेनन्, हार मानेर महिला सेलमा निवेदन दिएर फर्के । जबकि एसपीलाई सबै प्रमाण वारे जानकारी गराउँदा पनि चासोको साथ अनुसन्धान नभएको आरोप पीडित पक्षको रहेको छ ।
यसैबीच सुजिता ठाकुरको हत्या भएको भनिएको विषयमा मधेसी आयोगले समेत चासो लियो । आयोग अध्यक्ष डा.विजयकुमार दत्तले आयोगमा दर्ता भएको उजुरीका विषयमा आवश्यक कानुनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाउन निर्देशन दिए । अध्यक्ष दत्तले घटनाका विषयमा महोत्तरीका प्रहरी प्रमुखलाई टेलिफोन सम्पर्क गरी घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई यथाशीघ्र कानुनी दायरामा ल्याउन निर्देशन दिए ।
आयोगले पनि आफ्नो तर्फबाट कारबाहीका प्रक्रिया अगाडि बढाइएको जानकारी अध्यक्ष दत्तले दिए । घटनालाई मधेसी आयोग र राष्ट्रिय महिला आयोगले गम्भीरतापूर्वक लिएर सँगै सहकार्य गरी अगाडि बढ्ने उनले बताए । आयोगले यस्ता घटनाका सम्बन्धमा नजिकको प्रहरी चौकी वा आयोगको हेल्पलाइन ११५२ वा टोल फ्री १६६००११६१८५ मा सम्पर्क गरी उजुरी टिपाउन आयोगले निरन्तर आग्रह गर्दै आएको छ ।
अनि बल्ल प्रहरीले शव गाडिएको ठाउँको उत्खनन गरे । यसरी विभिन्न ठाउँबाट प्रहरीलाई दबाब र घटनाबारे प्रमाणहरू बाहिर आउन थालेपछि प्रहरीले आज आइतबार बल्ल शव गाडिएको ठाउँको उत्खनन गरेर शव फेला पारेको छ । सुजितादेवी ठाकुरको शव माइती पक्षको सहयोगमा प्रहरीले फेला पारेको हो । केही गाउँकै मानिसले खेतमा खाल्डो खनिएको देखेपछि शव गाडिएको हुन सक्ने आशंका गरेको उनले बताए ।
उनले आफ्नो छोरीको शव गाडेर माथिबाट धानको बिउ राखेको बताए । माइती पक्षकै जिद्दीपछि प्रहरीले शव गाडिएको शंकास्पद ठाउँमा खनेर हेर्दा फेला परेको हो । खेतमा करिब ६ फिट खाल्डो खनेर शव गाडिएको अवस्थामा फेला परेको छ । शव पोस्टमार्टमका लागि जलेश्वर अस्पताल ल्याइएको छ । तर थप जाँचका लागि शव अन्यत्र पठाउन सकिने जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले बताए ।
।