दैलेख । नौमुले गाउँपालिका–३ गोपेनीकी नन्दकली रोकाया अहिले ६४ वर्षकी भइन् । उन्नाइस वर्षको उमेरमा विवाह गरेकी उनले लगातार चार सन्तान जन्माइन् । छोराछोरी उमेर बढ्दै गएपछि जीवन अझ बढी सुखसमय हुन्छ भन्ने उनको सोचाइ थियो । जीवन सोचे जस्तो भएन, ३० वर्षकै हुँदा उनको खुसी दैवले खोस्यो ।
श्रीमानको मृत्यु भयो, एक छाक खाएर भए पनि छोराछोरी हुर्काइन् । छोराछोरीको मायाले गर्दा उनले जवानीमै पति बिना एक्लो भए पनि अर्को विवाह गरिनन् । विसं २०५६ मा छोरा अमरको विवाह गरिदिइन । उनीहरूबाट एक नातिनीको जन्म भएपछि केही सान्त्वना मिल्यो । त्यतिबेला माओवादी ‘जनविद्रोह’ उत्कर्षमा थियो ।
गाउँका तरुना तन्नेरीहरु माओवादीमा गएको खबर आइरहन्थ्यो । ‘मेरो पनि छोरालाई लाने पो हुन् कि ?’ भन्ने उनलाई डर लाग्यो । बुहारी दुई महिनाको सुत्केरी थिइन् । छोरा अमरबहादुरलाई माओवादीले नलैजाउन् भन्दै जिल्ला सदरमुकाम पठाइन् । एक महिना जिल्ला सदरमुकाम बसेका अमर केही काम नपाएपछि घर फर्किए ।
घरमा गएको मौकामा उनलाई तत्कालीन माओवादीले घरबाटै अपहरण गरेर लगे । ‘म घरको भूइँतलामा सुतेको थिएँ, छोराबुहारी माथिल्लो तलामा सुत्थे । राति आएर माओवादीले छोरालाई लिएर गएछन्,’ उनी भन्छिन् । छोराको चिन्ताले उनलाई सताइरह्यो । माओवादीबाट छुटाएर छोरालाई घर ल्याउन भन्दै नन्दकलीले रु आठ हजार रुपैयाँमा गोरु बेचिन् ।
छोराको अवस्थाबारे उनले गाउँका जान्ने बुझ्ने सबैलाई सोधिन् । माओवादीको स्थानीय नेतृत्वबाट एक÷दुई दिनपछि छोड्ने आश्वासन पाइन् । छोरा आउने आशामा रहेकी नन्दकली धेरै दिन भोकै बसिन् । छोरालाई केही नहोस् भनेर देवीदेवताको भाकलसमेत गरिन् । उनको मनको इच्छा न अपहरणकारीले बुझे न देवीदेवताले बुझे ।
बरु उल्टै अपहरण भएको एक महिनापछि २०५९ मा साबिकको रानीवन गाविसमा माओवादीले अमरबहादुरको हत्या गरेको खबर आयो । एक्कासी छोराको हत्याको खबरले उनलाई ठूलो बज्रपात भए जस्तो भयो । एकपछि अर्को पीडा खेप्दै गएकी नन्दकलीसँग बाँच्नुबाहेक अर्को विकल्प थिएन । केही समयपछि बुहारीले पनि अर्को विवाह गरिन् ।
अब नातिनीलाई हुर्काउने जिम्मा पनि उनीमाथि नै आइलाग्यो । अहिले तिनै नातिनी उनको बुढेसकालको सहारा बनेकी छन् । तत्कालीन समयमा बालुवाटार, सल्लेरी, कालिका, चौराठा र तोली गाविस माओवादीको आधार इलाका मानिन्थ्यो । सरकारको उपस्थिति नहुँदा माओवादीको एकलौटी राज थियो । उनीसँग मरेको छोरा सझिनुको विकल्प रहेन ।
शान्ति सम्झौतापछि नेपाल सरकारले दिएको राहतसमेत बुहारीले आधा लगेको नन्दकली बताउँछिन् । अहिले नन्दकलीलाई खाना लाउन समस्या छ । शारीरिक अवस्था कमजोर हुँदै गएको छ । उनी मुटु र मधुमेहसमेतको बिरामी छन् । पैसा नहुँदा उपचार गर्न सकेकी छैनन् । अहिले उनलाई छोराको सम्झनाले बढी नै सताउने गरेको छ ।
उनी भन्छिन्, ‘खै के भएको हो, वनमा न्याउली चरी कराउँदा पनि छोरा न्याउलीको भेष गरेर आयो कि जस्तो लाग्छ र स्वर सुन्नेबित्तिकै आँगनमा पानी राखिदिन्छु,’ उनले भनिन् । जीवनमा दुःखैदुःख झेलेकी नन्दकलीको एउटै मात्र धोको छ, ‘देशमा फेरि युद्ध नहोस् । मेरो जस्तै अरू आमाले पिडा भोग्नु नपरोस् ।’ सशस्त्र द्वन्द्वका क्रममा दैलेखमा राज्य पक्षबाट सयौं व्यक्ति मारिएका छन् भने माओवादी पक्षबाट पनि धेरैले अकालमै ज्यान गुमाएका छन् ।
।