सूचनाको शक्ति - The Power Of Information

        

पूर्व राज्यमन्त्रीको शिक्षा मोह, भन्छन्, ‘पदभन्दा सेवा महत्वपूर्ण’


काशीराम शर्मा । बाँके । २०४४ सालमा शिक्षक पेशामा आवद्ध भएका दलबहादुर सुनार बाँकेका अब्बल राजनीतिज्ञमा गनिन्छन् । समाजसेवामा रमाउने सुनारले राजनीति गर्नकै लागि २०५५ सालमा शिक्षण पेशाबाट विदा लिदै २०५६ सालमा नेकपा मालेबाट संसदीय निर्वाचनमा भाग लिए । तर विजयी हुन सकेनन् । नेकपा एमाले र नेकपा मालेबीच पार्टी एकता भएपछि उनी एमालेमै फर्किए ।
उनको चाहना छ, जनताका छोरीछोरीले उच्च शिक्षासम्म निशुल्क पढ्न पाउँन् । काममा इमान्दारिता, व्यवहारमा नरम र कार्यशैलीमा कडापन उनको स्वाभाव हो । विद्यालयको पढाई कस्तो भइरहेको छ, उनी आफै कक्षामा निरिक्षण र अनुगमन गर्दै विद्यार्थीसँग अन्तरक्रिया गर्छन् । पढाई भए/नभएको सोधीखोजी गर्छन् । शिक्षकको कार्यशैलीका बारेमा जानकारी लिन्छन् ।
सुनार हाल नेकपा एमालेका केन्द्रिय सदस्य छन् । २०६४ र २०७० मा भएको संविधानसभा निर्वाचनमा उनी दुई पटक सांसद बने । संविधानसभाको दोस्रो कार्यकालमै उनी सिचाई राज्यमन्त्री समेत बनेका उनी २०७४ को प्रतिनिधि सभामा उनी सांसदको कोटामा पर्न सकेनन् । तर सांसद बन्ने सूचीमा नपरेका उनी निराश भने भएनन् ।
‘पद होइन समाजसेवा सम्झिए,’ उनले भने, ‘समाजसेवामा रम्न मन लाग्यो । मैले शैक्षिक क्षेत्रलाई समृद्ध बनाउने अठोट गरे र विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भए ।’ बाँकेको बैजनाथ गाउँपालिका–५ मा रहेको प्रभात माध्यमिक विद्यालयको अध्यक्षमा उनी सर्वसम्मत चयन भएपछि उनलाई विभिन्न खाले प्रक्रिया आए ।
उनी भन्छन्, ‘सांसद भएको व्यक्ति विद्यालयको अध्यक्ष ! तपाईको राजनीतिक यात्रा अब सकियो जस्ता प्रतिक्रियाहरु आइरहे । तर मैले यसलाई स्वभाविक रुपमै लिए ।’ २०२५ सालमा स्थापना भएको उक्त विद्यालयलाई देशकै नमूना विद्यालय बनाउने उनको अठोट छ । ‘मैले यो विद्यालयलाई शैक्षिक अध्ययन केन्द्रका रुपमा स्थापना गरी देशकै नमूना बनाउन विद्यालय बनाउन चाहन्छु,’ पूर्व राज्यमन्त्री सुनारले भने ।


उनले २० बर्षअघि पनि सोही विद्यालयको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका थिए । सोही समयमा विद्यालयमा प्लस टु सञ्चालन सुरु गर्न सफल भएका उनी त्यसपछि भने विद्यालयलाई त्यति समय दिन सकेनन् । ‘समाजलाई शिक्षाले नै बदल्न सक्ने बोध गरेर म अध्यक्ष बनेको छु,’ उनले भने, ‘मन्त्री र सांसद हुँदा जे भूमिका र जिम्मेवारी थियो, त्यही जिम्मेवारी मैले यहाँ महशुस गरेको छु ।’
उनी अध्यक्ष भएपछि अहिले विद्यालयको मुहार फेरिँदैछ । विद्यालयमा खेल मैदान निर्माण भएको छ । पर्खाल निर्माण हुने प्रक्रियामा रहेको छ । आगामी शैक्षिक सत्रदेखि नर्सरी कक्षा सञ्चालनको तयारी भइरहेको छ । ‘नीजि होइन, सरकारी विद्यालयमा छोराछोरी पढाउनुपर्छ । हामीसँग तालिम प्राप्त शिक्षकहरु छन् । अनि हामीले लगानी गरेका सामुदायिक विद्यालयलाई हामीले खण्डहर बनाउने ?’ उनले प्रश्न गरे ।
आगामी शैक्षिक सत्रदेखि अंग्रेजी कक्षा सञ्चालनको तयारी गरिरहेको प्रभात माध्यमिक विद्यालयले विद्यार्थीलाई पोशाक, पाठ्यपुस्तक, झोला र खाजाको निशुल्क व्यवस्था गर्ने तयारी गरेको छ । ‘प्रर्याप्त भौतिक पूर्वाधारहरु हुँदाहुँदै पनि नीजि विद्यालयसँग प्रतिश्पर्धा गर्न सकिरहेका छैनन्,’ पूर्व राज्यमन्त्री सुनारले भने, ‘अब हामी नीजि विद्यालयका विद्यार्थीभन्दा हामी अब्बल बनाउँछौँ ।’
उनले सो विद्यालयलाई क्याम्पसका रुपमा विकास गरी स्नातकोत्तरसम्म अध्ययनका लागि तयारी गरिरहेको बताए । ‘आमरुपमा हाम्रो समाज योजना अभाव र कार्यान्वयन प्रक्रियामा फितलो छ । हामी योजना बनाउँदैनौं । यसबाट हाम्रा कामहरुले गति लिन सक्दैनन्,’ उनले भने, योजना बनाउँदा श्रोत जुट्छ, हामी योजना निर्माणसँगै श्रोत खोजी गरिरहेका छौँ ।’
नयाँ शैक्षिक सत्रदेखि विद्युतिय हाजिरीको सुरुवात गर्दैछन् । उनी भन्छन्, ‘शिक्षकले विद्यालयमा आउँदा र जाँदा हाजिरी गर्नुपर्नेछ । समयमा विद्यालय नआउने शिक्षक र विद्यार्थीलाई हामी गयल गर्छौ र शिक्षकको तलव काट्छौं ।’ विद्यालयमा विभिन्न विधाका शिक्षकहरु नियुक्त गर्ने उनको तयारी छ । ‘हामी खेलकूद, साँस्कृतिक, नाचगान जस्ता विधाका शिक्षकहरु नियुक्तिको तयारीमा छौं,’ उनले भने, ‘हामी सबै क्षेत्रमा अब्बल बन्न चाहन्छौं ।’
उनी गुनासो गर्छन्, ‘आफैले जन्माएको बच्चालाई अभिभावकले माया गर्नुभएको छैन । विद्यालय स्थापना गर्दा अग्रजहरुले जति दुख गर्नुभो, अहिले अभिभावकले त्यो सबै बिर्सिनुभएको छ । अब अभिभावकलाई जिम्मेवार बनाउन हामीले कुनै कसर बाँकी राखेका छैनौं ।’ विद्यालयले आइतबार ४९ औं वार्षिकोत्सव मनाइरहँदा उनले अभिभावकप्रति धेरै गुनासा, अपेक्षा र जिम्मेवारीका फहरिस्त सुनाए । अभिभावकलाई उनले भने, ‘विद्यालयमा चाहिने सबै आवश्यकताहरु हामी पुरा गर्छौ, तपाईहरु आफ्ना बच्चालाई विद्यालयमा भर्ना गरी नियमित पठाइदिनुस् ।’

प्रकाशित मिति : ६ फाल्गुन २०७४, आइतवार ११:३२