सूचनाको शक्ति - The Power Of Information

        

राजस्व संकलन २२ प्रतिशतले बढ्यो

काठमाडौं । आर्थिक वर्ष २०७४/०७५ भदौ महिनासम्मको राजस्व संकलनको लक्ष्य ३६ अर्ब ६७ करोड ९१ लाख ३९ हजार रहेकामा ३५ अर्ब २७ करोड ३ लाख ४९ हजार संकलन भई लक्ष्यको तुलनामा ९६ प्रतिशतको प्रगति भएको छ । गएको वर्षको असुलीको तुलनामा २२ प्रतिशतले वृद्धि भएको छ । शीर्षकगत रूपमा हेर्दा आयकरतर्फ झण्डै १४ अर्व २३ करोड, मूल्य अभिवृद्धि कर १२ अर्ब ९० करोड र अन्तःशुल्कतर्फ सात अर्ब ७३ करोड संकलन भएको छ । यो रकम लक्ष्यको तुलनामा आयकरतर्फ ९२ प्रतिशत, मूल्यअभिवृद्धि करतर्फ ९७ प्रतिशत र अन्तःशुल्कतर्फ १०५ प्रतिशत हो ।
त्यसैगरी शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः झण्डै १५ करोड ६६ लाख र रु २५ करोड चार लाख संकलन भएको छ । शिक्षा सेवा शुल्कतर्फ लक्ष्यको तुलनामा ८८ प्रतिशत र स्वास्थ्यसेवा करतर्फ लक्ष्यको तुलनामा ७३ प्रतिशत संकलन भएको छ । गतवर्षको तुलनामा आयकर वृद्धिदर १७ प्रतिशत, मूल्य अभिवृद्धि कर वृद्धिदर २३ प्रतिशत, अन्तःशुल्कको वृद्धिदर ३० प्रतिशत, स्वास्थ्य सेवा कर वृद्धिदर २२ प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धिदर १३ प्रतिशत छ । आन्तरिक राजस्व विभागलाई आव २०७४/०७५ का लागि झण्डै तीन खर्ब राजश्व संकलन लक्ष्य तोकिएको छ ।
विभागका महानिर्देशक किशोरजंग कार्कीले महालेखा परीक्षकको टोलीसँग डोरमै बेरुजु सम्परीक्षण गराउन, बेरुजु नउठ्ने गरी कार्य गर्न, अन्तिम तहसम्मको कानुनी कारबाही गरी वक्यौता असुली गर्न र कर परीक्षणमा गुणस्तरीयता कायम गर्न प्रमुख कर प्रशासक तथा प्रमुख कर अधिकृतलाई निर्देशन दिइएको बताए । विभागका उपमहानिर्देशक यज्ञप्रसाद ढुंगेलले गएको आर्थिक वर्षमा कर बुझाएका करदाताले यस आर्थिक वर्षमा कर नबुझाएको देखिएकाले यसको कारण पहिचान गर्न निर्देशन दिएको जानकारी दिए । उपमहानिर्देशक शंकरप्रसाद खरेलले २१ बुँदे घोषणापत्रको कार्ययोजना बनाएर कार्यान्वयन गर्ने बताए । रासस

प्रकाशित मिति : १० आश्विन २०७४, मंगलवार ०२:३४