बाँके । बाँकेमा मंगलबारदेखि लकडाउनको नयाँ निर्णय लागु भएसँगै इलाका प्रहरी कार्यालय कोहलपुरले चेनब्रेक पुलिसिङ्ग अभियान सुरु गरेको छ । यस अवधिमा अपराधिक गतिविधि बढ्न सक्ने कुरालाई मध्यनजर गर्दै प्रहरीले चेकजाँचलाई तीब्र बनाएको छ ।
लकडाउन खुकुलो हुँदै गएकोले अपराधिक गतिविधिले प्रसय पाउन सक्ने भएकाले लकडाउन मापदण्डसँगै अपराधिक घटना केन्द्रीत चेकजाँचलाई तीब्र बनाइएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमूख एवं प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।
अभियान अन्तरगत चेकजाँचकै क्रममा नेपालगन्ज उपमहानगरपालिका–२० राँझामा रहेको पूर्ण होटल तथा रेष्टुरेन्टका सञ्चालकसहित दुई जना महिला र चार जना पुरुषलाई कोहलपुर प्रहरीले पक्राउ गरेको छ । उनीहरुमध्ये एक जना भारतीय नागरिक हुन् ।
प्रहरी नायव उपरीक्षक खनालले भने, ‘अभद्र व्यवहार गरेको गराउको अभियोगमा पक्राउ गरेर लिएर म्याद थप गरी अनुसन्धान थालेका छौं ।’ उनीहरुलाई बढीमा ६ महिना कैद र अभद्र व्यवहार गरेको प्रकृति हेरेर जरिवाना हुने कानुनी व्यवस्था छ ।
राँझा क्षेत्रका होटलहरुमा खुलेआम देह व्यापार चलिरहेको गुनासो बढेपछि यसअघि गत बैशाख ९ गते पनि राँझाका केही होटलमा प्रहरीले सात जनालाई पक्राउ गरेको थियो । राँझा क्षेत्रमा यौन व्यवसाय फस्टाउन थालेपछि स्थानीयले उक्त कार्य रोक्नसमेत माग गर्दै आएका छन् ।
यौन व्यवसायमा अधिकांश छोडपत्र गरेर बसेका श्रीमान तथा श्रीमति, वैदेशिक रोजगारमा गएका श्रीमान अथवा श्रीमति, कलेजका किशोरी तथा दैनिक गुजारा चलाउन मुस्किल भएपछि राम्रो कमाई हुने लोभमा ग्रामीण क्षेत्रका किशोरीहरु पनि देह व्यापारमा लाग्ने गरेका छन् ।
।