सूचनाको शक्ति - The Power Of Information

        

कैलाली र कञ्‍चनपुरमा थप एक साता निषेधाज्ञा जारी रहने

काठमाडौं । कोभिड-९ संक्रमण नियन्त्रणका लागि कैलाली र कञ्‍चनपुरमा जारी भएको निषेधाज्ञा पुनः थप गरिएको छ ।

कैलालीमा सोमबार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीएमस)को बैठकले असार १५ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

केही खुकुलो पार्दै असार १५ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए ।  निषेधाज्ञाको समयमा सार्वजनिक सवारी साधन बन्द रहनेछन् ।

निजी सवारी साधनमा भने जोरबिजोर प्रणाली लागू गर्ने निर्णय भएको छ । जोर बिजोर प्रणाली अन्तरगत नै ट्याक्सी र अटो बढीमा २ जना यात्रु राखेर सञ्चालन गर्न पाइनेछ ।

अत्यावश्यक सवारी साधन, यस्तै सरकारी, निजी तथा मालबाहक लगायतका सवारी साधान सञ्चालन गर्न पाइने छ । सबै खाले पसलहरू प्रत्येक दिन बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म खुला गर्ने निर्णय गरिएको सूचना अधिकारी जोशीले बताए ।

उद्योग, कलकारखाना लगायत, सार्वजनिक तथा निजी निर्माण कार्य सञ्चालन गर्न पाइने छ । यस्तै होटल रेष्टुरेन्ट, खाजा पसलले होम डेलिभरी तथा टेक अवे सेवा(खाना र खाजा लगेर जानुपर्ने) बिहान ८ देखि बेलुकी ८ बजेसम्म सञ्चालन गर्न पाउनेछन् ।

यस्तै अब सरकारी कार्यालय, सार्वजनिक निकाय, बैंक वित्तीय संस्थाहरू, गैरसरकारी संस्था स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर तथा आलोपालो गरी सञ्चालन गर्न सकिने छ ।

यस्तै, वर्कशप कम्तीका ३ जना कर्मचारी राखेर बिहान ७ देखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्न प्रशासनले अनुमति दिएको छ। उता कञ्चनपुरमा जारी निषेधाज्ञा असार १४ गतेसम्म थप गरिएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिसका आधारमा स्थानीय प्रशासनले जारी निषेधाज्ञालाई असार १४ गतेसम्म कायम राख्ने आदेश गरेको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जारी गरेको आदेशमा निषेधाज्ञाको समयमा अत्यावश्यक सेवा र अनुमति प्राप्त बाहेकका सबै प्रकारका सवारी साधन बन्द रहनेछन् ।

अत्यावश्यक सेवाका पसल दैनिक बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म खोल्न पाइनेछ । सरकारी कार्यालय, बैंक तथा वित्तीय संघसंस्था, गैरसरकारी संघसंस्थाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सेवा सञ्चालन गर्न पाइनेछ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार १८:४१