सूचनाको शक्ति - The Power Of Information

        

कर्मचारीलाई मुख्यमन्त्री पोख्रेलको निर्देशन


बुटवल । प्रदेश नं. ५ का नवनियुक्त मुख्यमन्त्री शंकर पोख्रेलले सुशासन, शान्ति र समृद्धिको पक्षमा उभिन राष्ट्रसेवक कर्मचारीहरुलाई निर्देशन दिएका छन् । पाँच नम्बर प्रदेशका उच्च अधिकारीसँग भेटघाट गर्दै मन्त्री पोखरेलले जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा सुविधामा चुस्तता र पारदर्शिता अवलम्बन गर्न पनि निर्देशन दिए ।
प्रदेश अन्तरगत मुख्यमन्त्री कार्यालय र बिभिन्न मन्त्रालयका सचिव, कर्मचारी, सुरक्षाकर्मी लगायतसँगको भेटमा मन्त्री पोखरेलले भ्रष्टाचारमुक्त समाज निर्माण गर्न राष्ट्रसेवक कर्मचारीको भूमिका महत्वपुर्ण हुने बताए । मुलुक नयाँ संघीय संरचनामा प्रवेश गरिसकेको उल्लेख गर्दै उनले शुसासनयुक्त समाज निर्माणमा योगदान गर्न सबैलाई आग्रह पनि गरे ।
विभिन्न आन्दोलनमार्फत प्राप्त उपलब्धीको संरक्षण र संस्थागत विकासका लागि आम जनतासँगै हातेमालो गरेर अघिबढेमा देशले समृद्धिको दिशातर्फ पाइला चाल्ने चर्चा गर्दै उनले सरकार, कर्मचारी र जनता मिलेर पाँच नम्बर प्रदेशलाई उपलब्धीका हिसावले एक नम्बर बनाउने अठोट पनि गरे । विकासका लागि परिवर्तन र सम्भावना दुबै बोकेको पाँच नम्बर प्रदेशको आर्थिक समृद्धिमा सकारात्मक सोंचका साथ सहभागि हुन पनि मुख्यमन्त्री पोखरेलले आग्रह गरे ।

प्रकाशित मिति : ५ फाल्गुन २०७४, शनिबार ०५:३४