बाँके । कोभिड–१९ बाट सङ्क्रमित हुनेहरू घट्दै गएपछि उपचारका लागि बाँकेका अस्पतालमा छुट्टयाइएका ७७ प्रतिशतभन्दा बढी शेय्या खाली भएका छन् । जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका अनुसार कोभिड उपचारका लागि विभिन्न अस्पतालमा छुट्टयाइएका ३६१ मध्ये २६४ शैय्या हाल खाली भएका छन् ।
एक महिनाअघिसम्म कोभिड सङ्क्रमितले बाँकेका अस्पताल भरिभराउ थिए । कतिपयको बरन्डामा राखेर उपचार गरिएको थियो भने केही बिरामीले त अक्सिजन र शैय्या नपाएरै ज्यान गुमाउनुपरेको थियो । हालसम्म बाँकेका नेपालगन्ज र कोहलपुरस्थित अस्पतालमा ८२ जनामात्र कोभिड–१९ का बिरामी भर्ना रहेको बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए ।
वैशाख २५ गतेपछि सङ्क्रमित बिरामीको सङ्ख्या क्रमशः घट्न थालेको हो । २०० शैय्या छुट्टयाइएको भेरी अस्पतालमा हाल ६५ जना बिरामीमात्र रहेका छन् । तीमध्ये १८ जनाको अवस्था अलिक गम्भीर रहेको छ । यस्तै, १३० शैय्या छुट्टयाइएको मेडिकल कलेजमा हाल १६ जना बिरामीको मात्र उपचार भइरहेको छ ।
तीमध्ये १४ जना गम्भीर अवस्थामा रहेका छन् । त्यस्तै, अन्य रोगको शल्यक्रिया गर्नुपर्ने अवस्थाका सङ्क्रमितका लागि १६ शैय्या छुट्टयाइएको वेस्टर्न हस्पिटलमा एकजना मात्र बिरामी भर्ना रहेका छन् । स्थानीय तहले खोलेका १६ वटा आइसोलेसन केन्द्रमध्ये चारवटामा १६ जना सामान्य अवस्थाका सङ्क्रमित रहेका छन् ।
१२ वटा आइसोलेसन केन्द्र खाली रहेको जिल्लास्थित कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए । कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म बाँकेमा ३०९ जना र उपचारका लागि जिल्लाबाहिरबाट आएका ३४० जना सङ्क्रमितको मृत्यु भएको कोरोना फोकल पर्सन ओलीले जानकारी दिए ।
।