सूचनाको शक्ति - The Power Of Information

        

मेलम्ची बाढी : ३ जनाको मृत्यु हुँदा १७ बेपत्ता

काठमाडौं । मेलम्ची बजारमा आएको बाढीमा परेर अहिलेसम्म तीन जनाको मृत्यु भएको छ ।

मंगलबार बेलुकीदेखि सुरु भएको बाढीमा परेर अहिलेसम्म तीन जनाको मृत्यु हुँदा १७ जना बेपत्ता भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

मृतकहरूमा चिनियाँ नागरिक गोङ टियान छियो, यु चि झु र भारतीय नागरिक कमल लोप्चन महतो रहेका छन् ।

बाढीमा परेको स्थानीयको उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी ३ सय ५० जनशक्तिको परिचालन गरिएको छ ।

बाढीमा परेका चार जना र प्रभावित ८० जनालाई उद्धार गरिएको प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाढीबाट पाँच वटा झोलुङ्गे पुल, चारवटा पक्की पुल र सात वटा ट्राउट माछा फर्ममा क्षति पुगेको छ । यस्तै व्यक्तिगत घरहरुमा पुगेको क्षतिको विवरण अहिलेसम्म आइनसकेको कार्यालयले जनाएको छ ।

यस्तै मेलम्ची र इन्द्रावती नदीको बहाव बढेका कारण जिल्लाका विभिन्न स्थानमा रहेका प्रहरी कार्यालयहरूसमेत जोखिममा परेका छन् । प्रहरी चौकीबाट हातहतियार र सञ्चारका साधनहरूलाई बैंक र विद्यालयमा राखिएको प्रशासान कार्यालयले जनाएको छ ।

बाढीपछि संघीय सरकारको तर्फबाट १ सयवटा टेन्ट, २ सय ५० वटा त्रिपाल र ५० वटा स्लिपिङ ब्याग तथा बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयबाट ४८ बोरा चामल, २ बोरा नुन, ५५ कार्टुन चाउचाउ, २३ बोरा चिउरा, १० कार्टुन तेल र ५ बोरा दाल राहत प्राप्त भएको सहायक प्रजिअ खनालले बताउभुयो ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार १८:१८