सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश ५ का महिला जनप्रतिनिधिलाई दाङमा स्वागत


दाङ । संचारिका समुह र क्रियाशिल पत्रकार महिलाको संयुक्त आयोजनामा प्रदेश ५ का महिला जन प्रतिनिधिहरुलाइ दाङमा स्वागत तथा सम्मान गरिएको छ । कार्यक्रममा उपस्थित प्रदेश ५ का १२ जिल्लाका महिला जनप्रतिनिधिहरुले प्राप्त उपलब्धी र संविधानले प्रद्दत गरेको अधिकार कार्यान्वयन निश्पक्ष न्याय सम्पादनमा आफुहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् ।
न्यायिक सम्पादनमा कार्यविधि बनिनसक्दा आफुहरुलाई न्याय सम्पादनमा अप्ठेरो परेको जनप्रतिनिधि महिलाहरुले बताएका छन् । सहभागी जनप्रतिनिधि महिलाहरुले न्याय सम्पादनका लागि स्पष्ट कार्यविधि छिटो निर्माण गरी कार्य सम्पादनमा सहजता ल्याउन सम्बन्धित निकायको ध्यानकर्षण गराएका छन् ।
कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर माया आचार्यले नेपालको संविधानले महिलाहरुलाई अधिकारसहितको राजनैतिक नेतृत्व गर्ने अवसर प्राप्त गरेको बताउँदै यो अवसरलाई आफुहरुले भरपुर उपयोग गर्ने बताइन् । यसैगरी उपमेयर आचार्यले पत्रकारहरुले महिलाहरुले गरेको सम्मानले आफुहरलाई थप जिम्मेवारी बोध गराएको बताइन् ।
घोराही उपमहानगरपालिकाकी उपमेयर सिता न्यौपानेले संविधानले महिलाहरुलाई अधिकार दिए पनि कार्यान्वयन तहमा थुपै्र चुनौतिहरु रहेको बताइन् । उपमेयर न्यौपानेले अझै पनि महिला र पुरुषबीचको असमानता विद्यमान रहेको बताउँदै यो असमानतालाई चिर्न जरुरी रहेको बताइन् । स्थानीय तहमा प्रमुख र उपप्रमुखको अधिकारको बाँडफाँड स्पष्ट रुपमा नतोकेकाले कार्य सम्पादनमा थुप्रै चुनौतिहरु रहेको न्यौपानेले बताइन् ।
उपमेयर न्यौपानेले अबको पाँच वर्षमा नेतृत्व तहमा महिलाहरु आउनका लागि महिलाहरुमा आन्तरिक रुपान्तरणको खाचो रहेको बताइन् । कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरले स्थानीय तहमा संविधानले उपप्रमुखहरुलाई बढि जिम्मेवारी दिए पनि प्रमुख र उपप्रमुखबीच सहकार्य हुन नसक्दा कार्य सम्पादनमा निकै चुनौति रहेको बताइन् । न्यायिक समीतिको ऐननियम कानुन नआउदा कार्य सम्पादनमा समेत अप्ठेरो परेको बताइन् । उपमेयर थापा मगरले अहिलेको संक्रमणकालिन अवस्थामा जनप्रतिनिधिहरु एक अर्काको सहयोगी भएर कार्य गर्नुपर्ने बताइन् ।
स्थानीय तहका उपप्रमुखहरुलाई न्याय सम्पादन गर्ने जिम्मेवारी बहन गर्न विभिन्न तालिमहरुका आवश्यक रहेको बताइन् । संचारिका समुह दाङकी अध्यक्ष नारायणी रजौरेको अध्यक्षता एवं क्रियाशिल पत्रकार महिलाकी प्रदेश ५ कि संयोजक लिला शाहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा क्रियाशिल पत्रकार महिलाकी सल्लाहाकार बसुन्धरा गौतम, संचारिका समुहकी क्षेत्रिय उपाध्यक्ष सुलोचना गौतम, क्रियाशिल पत्रकार महिला दाङकी सचिव पार्वती बस्नेत लगायतले बोलेका थिए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७४, शुक्रबार ११:०७