बर्दिया । कृषिलाई यान्त्रीकरण गर्न बर्दियाका स्थानीय सरकारले जोड दिँदै आएका छन् । कोरोना भाइरसको महामारीकाबीच रोजगार गुमाएर गाउँ फर्केका युवालाई लक्षित गरेर स्थानीय सरकारले कृषिलाई विशेष प्राथमिकतामा राखेका छन् । ठाकुरबाबा नगरपालिकाले २६ जना किसानलाई ३५ प्रतिशत अनुदानमा कृषि यन्त्र उपलव्ध गराएको छ । १९ जनालाई पावर टिलर र सातजनालाई रिपर उपलब्ध गराएको हो ।
छनोटमा परेकाहरुलाई उक्त सामग्री उपलब्ध गराएको ठाकुरबाबा नगरपालिकाको कृषि उपशाखा प्रमुख ध्रुवराज बमले बताए । गत वर्ष अनुदान नपाएका, व्यावसायिक खेती गर्न सक्ने, १० कट्ठा जमिन भएकालगायतका मापदण्ड पूरा गरेका किसानहरु छनोटमा परेका कृषि शाखाले जनाएको छ । कृषि यान्त्रीकरण शीर्षकको १५ लाख रुपैयाँ बराबरको बजेटबाट औजार उपलब्ध गराइएको हो ।
युवाहरुलाई आफ्नै ठाउँमा स्वरोजगार बनाउन मधुवन नगरपालिकाले गत वर्षदेखि योजना अगाडि बढाएको छ । नगरलाई कृषि हबको रुपमा विकास गर्न १० वटा ब्लक निर्माण गरेको छ । कोरोना महामारीका कारण धेरै रोजगारी गुमाएर गाउँ फर्किएका युवाहरुलाई लक्षित गरी कृषिमा व्यवसायीककरण, यान्त्रीकरण र विषादी न्यूनीकरणलाई विशेष प्राथमिकतामा राख्दै गत वर्ष कृषि र पशुपालनका झण्डै ६ करोड रुपैयाँ विनियोजन गरेको थियो ।
नगरपालिकाको लक्ष्यअनुसार किसाानहरु लाभान्वित भएको नगरपालिकाका कृषि उपशाखा प्रमुख बमले बताए । बाँसगढी नगरपालिकाले पनि गत वर्ष कृषि लक्षित कार्यक्रमअन्तर्गत तीन करोड रुपैयाँ विनियोजन गरेको थियो । बारबर्दिया नगरपालिकाले बाँझो जग्गा उपयोग कार्यविधि गत आर्थिक वर्षमै पारित गरेको छ । बाँझो जग्गा पाए नगरपालिकाले नै त्यहाँ उत्पादन सुरु गर्ने योजना छ ।
।