सूचनाको शक्ति - The Power Of Information

        

बाढीको पूर्वतयारी

राप्तीमा बाढीको त्रास, ‘सशस्त्र प्रहरी हाइअलर्ट’

बाढीको खतरालाई मध्यनजर गरी उद्धार सामग्री र तालिम प्राप्त जनशक्तिसँगै सशस्त्र प्रहरी हाइअलर्टमा छ ।

बाँके । लगातारको वर्षापछि राप्ती नदी आसपासका बासिन्दा त्रसित छन् । दुई दिनदेखि लगातार बर्षा भएर राप्ती नदीमा पानीको बहाब बढेपछि राप्ती नदी आसपासका बासिन्दा सुरक्षित स्थानतर्फ सर्न थालेका छन् । अघिल्ला वर्षजस्तै यस वर्षको वर्षा सुरु भएपछि उनीहरु सुरक्षित स्थानतर्फ सर्न थालेका छन् ।

दुई दिनदेखि भइरहेको लगातारको वर्षाले राप्ती नदीमा बाढी आउन सक्ने खतरा बढेपछि सुरक्षित स्थानतर्फ लागेको खल्ला झगडियाका रामवरण बर्माले बताए । उनले बर्षा भएपछि रातमा निदाउन नसकेको गुनासो गरे । ‘अगुल्टाले हानेको कुकुर बिजुली चम्केपछि त्रसिन्छ भनेझैँ हामी पनि बाढी देख्नासाथ डराउँछौँ,’ उनले भने ।

सरकारले बाढीबाट जोगाउन पक्की तटबन्ध निर्माण गरेपछि केही राहत मिले पनि बाढी आउने सम्भावना हटेको छैन । उनले उत्तरतर्फ पानी पर्न थालेपछि बाढीको डर उत्पन्न हुने गरेको बताए । राप्ती नदीमा आउने बाढीले डुबान हुने डरले राप्ती तटिय क्षेत्रका नागरिकहरु घर छोडेर सुरक्षित स्थानतर्फ सर्न थालेका छन् ।

नरैनापुर गाउँपालिकाभित्र पर्ने भगवानपुर, जमुनाहा गाउँ, सोनबर्षा, कुदरबेटवा, भोजभगवानपुर गंगापुर, लगायतका गाउँ बर्सेनि डुबानमा पर्दै आएका छन् । त्यस्तै राप्तीसोनारी गाउँपालिकाका खल्ला झगडिया, बसन्तापुर, भवानियापुर, पहाडीपुर, देउपुरा, टेपरी, ढलैया, पिप्रहवा, गेन्दवा, सोनपुर, सैयापुर, लालपुर, नन्कौपुर, सर्रा लगायतका गाउँ पनि डुबानमा पर्दै आएका छन् ।

दुई दिनदेखि लगातार बर्षा हुन थालेपछि सीमा सुरक्षामा खरो उत्रिने सशस्त्र प्रहरी बिपदको पूर्वतयारी गर्दै हाइअलर्टमा छ । राप्ती तटिय क्षेत्रमा बाढी आएपछि त्यसबाट धनजनको क्षति हुन नदिन आफूहरु तयारी अवस्थामा रहेको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (बिओपी) गंगापुरका इन्चार्ज एवं सशस्त्र प्रहरी निरीक्षक बिरेन्द्र जिसीले जानकारी दिए ।

‘रबर बोटसहित सशस्त्र प्रहरी उद्धारका लागि तम्तयार छ । हामीसँग तालिम प्राप्त सशस्त्र प्रहरीको टोली बाढी डुबान क्षेत्रमा खटिनका लागि तयारी अवस्थामा छ,’ प्रहरी निरीक्षक जिसीले भने, ‘कतिखेर बाढी आउँछ भन्ने निश्चित हुँदैन, बाढीले स्थानीयका घर, अन्नपात र पशु चौपायालाई क्षति नहोस् भनेर हामी तयारी अवस्थामै छौं ।’

बाढी आएपछि उद्धार तथा सुरक्षित बासस्थानका लागि सम्पूर्ण तयारी पूरा भएको जनाउँदै बाँकेको महेन्द्रनगरस्थित सशस्त्र प्रहरी बल ३० नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक अशोक बमले सम्शेरगन्जमा गोताखोरसहितको विपद व्यवस्थापन टोली तयारी अवस्थामा रहेको बताए । उनले उद्धार तथा उद्धारपछि राख्ने सुरक्षित ठाउँको व्यवस्था मिलाइएको बताए ।

सशस्त्र प्रहरी उपरीक्षक बमले भने, ‘उद्धारकर्ताका लागि लाइफ ज्याकेट, स्ट्रेचर, रबरको डुंगा, काठको डुंगा, ट्युब, डोरी, बेल्चा, फरुवा, हेल्मेट, साइरन, रेनकोट, त्रिपाल, टर्चलगायत सामग्री तयारी अवस्थामा राखेका छौं । गणमा पनि तालिमप्राप्त टोली तयारी अवस्थामा छ । गंगापुर, कटकुइँया, नरैनापुरमा रहेका उद्धार सामाग्रीसहितको टोली पनि तयारी अवस्थामै छ ।’

राप्ती नदीमा बाढी आएपछि कटान हुन नदिन जाली र बोराहरुको समेत व्यवस्था गरेर तयारी अवस्थामा राखेको सशस्त्र प्रहरी उपरीक्षक बमले जानकारी दिए । उनले भने, ‘स्थानीयलाई बाढीको जोखिमबाट बचाउन दक्ष जनशक्ति र उद्धार सामग्रीसँगै नदी कटानलाई कम गर्न पनि तयारी गरेका छौं । ती क्षेत्रमा रहेका बिओपीलाई हाइअलर्टमा रहन निर्देशन दिएका छौं ।’

सशस्त्र प्रहरी उपरीक्षक अशोक बमले बाढीको खतरालाई मध्यनजर गरी उद्धार सामग्री र तालिम प्राप्त जनशक्तिसँगै सशस्त्र प्रहरी हाइअलर्टमा रहको बताए । उनले भने, ‘उद्धारका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री तयारी अवस्थामा राखिएको छ । सूचना पाएको १५–२० मिनेटमै उद्धार टोली घटनास्थल पुग्ने गरी तयारी गरिएको छ,’ उनले भने ।

मनसुनसक्रिय भएसँगै बाँकेका राप्ती नदीको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले पनि आग्रह गरिरहेको छ । जिल्ला प्रशासन कार्यालयले बाढी तथा डुबानबाट हुनसक्ने क्षतिको जोखिमबाट जोगाउन राप्ती नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

उनका अनुसार, राप्ती नदी आसपासको तटीय क्षेत्रमा बाढी तथा डुबानका कारण मानवीय र धनमालको क्षति हुन सक्ने सम्भावनालाई दृष्टिगत गर्दै सतर्कता अपनाउन स्थानीय बासिन्दा र सम्बद्ध सबै निकायलाई आग्रह गरिएको छ । पहाडी जिल्लामा बर्षात हुनासाथ राप्ती नदीमा बाढी आउने भएकाले सुरक्षा संयन्त्र, रेडक्रस, विपद् व्यवस्थापन समितिलाई विपद आइपरेको खण्डमा तत्काल उद्धार तथा राहत कार्यमा जुट्न आग्रह गरिएको छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलवार ०८:४२