सूचनाको शक्ति - The Power Of Information

        

डुडुवामा कोभिड खोप दुरुपयोगको छानविन शुरु

फाइल तस्वीर

बाँके । बाँकेमा कोभिड खोप दुरुपयोग भएको भन्दै छानविन शुरु भएको छ । खोप लगाउने क्रममा स्वास्थ्यकर्मीले मनपरी गरेर तोकिएका व्यक्तिभन्दा आफन्त र नातेदारलाई लगाएको जनताको गुनासोपछि लुम्बिनी प्रदेश सरकारले छानबिन गर्न जिल्ला प्रशासन कार्यालय बाँकेलाई निर्देशन दिएको छ ।

लुम्बिनी प्रदेशका कृषि तथा सहकारीमन्त्री विजयबहादुर यादवले बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई सो बारेमा सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पठाउन निर्देशन दिएका छन् । प्रदेश सरकारको निर्देशन प्राप्त भएपछि सो बारेमा छानविन शुरु गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

बाँकेको डुडुवा गाउँपालिका वडा नं ४ मा रहेको आधारभूत स्वास्थ्य केन्द्रका इन्चार्ज खड्काबहादुर रोकाले गाउँपालिकाका जनतालाई खोप नलगाएर अन्यत्रबाट आफ्ना निकटका व्यक्तिलाई बोलाएर लगाएको र केहि स्वास्थ्यकर्मीले ५ देखि ८ खोप आफ्नो घरमा लगेको कुरा सार्वजनिक भएको थियो ।

स्वास्थ्यकर्मीले कोभिड खोप आफन्तलाई लगाइएको आरोप स्थानीयले लगाएको गुनासो उठेपछि लुम्बिनी प्रदेश सरकारले छानविन गरेर सत्य तथ्य पत्ता लगाउन निर्देशन दिएको हो । सरकारले तोकेको मापदण्डभन्दा बाहिर गएर पहुँचको आधारमा गाउँपालिका वाहिरका व्यक्तिलाई बोलाएर नक्कली ठेगाना राखेर सहपूर्वा स्वास्थ्य केन्द्रले खोप लगाएको स्थानीयले जनाएका छन् ।

कोभिड खोप ६२ देखि ६४ वर्ष उमेर समूहलाई लगाउन स्थानीय निकायलाई निर्देशन भए पनि डुडुवा ४ का स्वास्थ्य चौकी इन्चार्ज रोकाले मनपरी तरिकाले खोपको दुरुपयोग गरेको स्थानीय नरेश खटिकले बताए । जिल्ला प्रशासन कार्यालयका अनुसार लक्षित समूह बाहेकका व्यक्तिलाई खोप लगाएको पाइएमा खोप दुरुपयोग गर्ने स्वास्थ्यकर्मीलाई कारवाही गरिनेछ ।

खोप लगाउने व्यक्तिहरूको विवरण, खोप केन्द्र र खोप लगाउने कार्यमा संलग्न कर्मचारीको समेत विवरण संकलन सुरु गरिएको सो कार्यालयले जनाएको छ । यस्तै डुडुवा गाउँपालिकाको स्वास्थ्य शाखाले पनि आइतबारबाट खोप अनियमितताका बारेमा छानबिन सुरु गरेको स्वास्थ्य संयोजक धनबहादुर बुढाले बताए ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार ०६:५२