सूचनाको शक्ति - The Power Of Information

        

समाचार

भारतले सडक विस्तार गर्दा नेपालतर्फ क्षति, सशस्त्रले खोल्यो वैकल्पिक बाटो

धारचुला–लिपुलेक सडकखण्ड । नेपालको भूमि मिचेर बनाइएको यो सडकले चीनको मानसरोबरसम्म जोड्छ ।

दार्चुला । महाकालीपारि भारतले धारचुला–लिपुलेक सडक खण्ड विस्तार गर्ने क्रममा नेपालतर्फको बाटोमा क्षति पुर्याएको छ । गत मंगलबार व्यास गाउँपालिकाको वडा नं २ मा पर्ने दुम्लिङ र कुञ्जुङ गाउँ जोड्ने घोडेटो बाटोमा क्षति पुगेको हो । सो बाटोमा पूर्ण क्षति भएपछि सशस्त्र प्रहरीले त्यसको वैकल्पिक बाटो खोलेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

मंगलबार भारतीय पक्षले धारचुला–लिपुलेक सडक विस्तार गर्ने क्रममा पहाड काट्नको लागि बम विस्फोट गराएको थियो । बम विस्फोट गराएपछि पहिरो खस्दा महाकाली नदी थुनिएको थियो । थुनिएपछि नदीले महाकाली किनार हुँदै दुम्लिङ जाने बाटोमा क्षति पुर्याएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए ।

‘हामीले भारतीय पक्षलाई पत्र लेखेर यसको जानकारी गृह मन्त्रालयलाई दिइसकेका छौं । पहिरोका कारण नेपाली भूभागमा क्षति भएकोले नेपालमा क्षति हुने गरी गरिएको काम तत्काल रोक्न भनेका छौं,’ प्रमुख जिल्ला अधिकारी जोशीले भने ‘बाटो नबनाउ भन्न मिल्दैन, हाम्रोमा क्षति हुनु भएन यत्ति कुरा हो, यही व्यहोरा लेखेर हामीले पत्र पठाएका छौं ।’

मंगलबार महाकाली थुनिएर बाटोमा क्षति पुगेपछि बुधबार सुरक्षा समितिको बैठक बसेर बिहीबार पत्र पठाइएको जोशीले जानकारी दिए । सोको जानकारी गृह मन्त्रालयमा पनि दिइएको उनले बताए । पत्र धारचुलाका डिस्ट्रीक मजिस्ट्रेट आनन्द स्वरुपको नाममा पठाइएको छ । यद्यपि पत्रको जवाफ शनिबार बिहानसम्म नआएको जोशीले जानकारी दिए ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार ०९:१२