सूचनाको शक्ति - The Power Of Information

        

सहुलियतमा चामल लिनेको घुइँचो

जाजरकोट । सरकारले निषेधाज्ञा अवधिभरि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चामलमा २० प्रतिशत छुट दिने घोषणा गरेपछि चामल लिनेको घुइँचो लाग्न थालेको छ  । कम्पनीले एक सातादेखि प्रतिकिलो २० प्रतिशत छुट दिएर चामल बिक्री गरेको छ  । सहुलियतको चामल लिन सदरमुकाम खलंगासहितका गाउँबाट शुक्रबारसम्म ६०० जनाभन्दा बढी आएको कम्पनीले जनाएको छ  ।

शुक्रबार मात्र खलंगास्थित खाद्य गोदामबाट ७०० क्विन्टलभन्दा बढी चामल बिक्री भएको शाखा प्रमुख धर्मबहादुर बस्नेतले जानकारी दिए । सरकारले छुटको चामल दिएपछि ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने विपन्न समुदायलाई राहत मिलेको नलगाड नगरपालिका–८ का मिलन चादाराले बताए । उनका अनुसार खाद्यले प्रतिपरिवार एकजनालाई नागरिकताको आधारमा २५ किलोको एक बोरा चामल दिने गरेको छ ।

सरकारले छुट घोषणा नगर्दासम्म खलंगास्थित खाद्य गोदामबाट दैनिक मुस्किलले १० जनाले मात्र चामल लिने गरेका थिए । अहिले थेगिनसक्नुको घुइँचो लाग्ने गरेको प्रमुख बस्नेतले बताउँछन् । उनले कोरोना कहरमा भीड कम गर्न बिहान चामल बिक्री गर्ने नियम बनाइएको बताए । लकडाउनले बजार क्षेत्रका खाद्य पसल बन्द भएका बेला सहुलियतको चामल पाउँदा आफूहरूलाई धेरै ठूलो राहत भएको भेरी नगरपालिका–३ की लिला ओलीले बताइन् ।

उनले भनिन्, ‘बजारमा अत्यधिक मूल्य बढ्दा खाद्यान्न खरिद गर्न मुस्किल भएको छ । पहिलाको मूल्य भन्दा झण्डै २५ प्रतिशत बढी व्यापारीले बढाएका छन् ।’ त्यस्तै छिमेकी जिल्ला डोल्पामा ९९ क्विन्टल चामल बिक्री भएको छ । करिब ४०० जनाले चामल लिएको प्रमुख कमलराज पाण्डेले बताए । सर्वसाधारणहरु उपल्लो डोल्पाका साथै लेखति गएका कारण खाद्यान्न बिक्री दर घटेको छ । सदरमुकामदेखि बाहिर छुटमा चामल नभएका कारण सदरमुकामदेखि बाहिरकाले सेवा नपाएको प्रमुख पाण्डेले बताए ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार ०८:५६