सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद्लाई पूर्णता, महेशलाई ब्याक गर्दै गृहमा खगराजको इन्ट्री

सञ्चारमा बादल पत्नी नैनकला, मुगुका मोहन बानियाँ पनि बने मन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । सत्तारुढ नेकपा एमालेबाट ६ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका ओलीले जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षबाट एक मन्त्री बनाइएका छन् । यससँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

२५ सदस्यीय मन्त्रिपरिषद्मा तीन उपप्रधानमन्त्री छन् भने १८ मन्त्री र तीन राज्यमन्त्री भए । प्रधानमन्त्री ओलीले खगराज अधिकारीलाई गृहमन्त्री नियुक्त गरेका छन् । २०७४ मा कास्कीबाट निर्वाचित खगराज सुरुमा एमाले संसदीय दलको सचेतक र केही समय प्रमुख सचेतक रहे । तर नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि उनको जिम्मेवारी खोसिएको थियो ।

खगराज प्रधानमन्त्री ओलीको पक्षमा संसदमा विपक्षीमाथि खरो ढंगले प्रश्न उठाउँथे । सरकार, संसद र पार्टीमा जिम्मेवारी नदिएपछि उनले असन्तुष्टि जनाउँदै आफूलाई पोखरा महानगरपालिका ३१ को वडा कमिटीमा राख्न माग गरेका थिए । तर बिहीबार मन्त्रिपरिषद् विस्तार गर्दा उनले गहृमन्त्रीको जिम्मेवारी पाएका छन् ।

रघुवीर महासेठलाई उपप्रधान तथा परराष्ट्रमन्त्री बनाएपछि एमालेका सिनियर नेताहरु मन्त्री बन्ने सम्भावना टरेको थियो । जुनियरबाट मन्त्री बनाउँदा गृहमा अधिकारी र महेश बस्नेतको दाबी थियो । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले बस्नेतलाई ब्याक गरेर अधिकारीलाई मन्त्री बनाए ।

सञ्चारमा बादल पत्नी नैनकला

विस्तारित मन्त्रिपरिषद्मा नैनकला थापा सञ्चार तथा प्रविधिमन्त्री बनेकी छन् । महिला आयोगको अध्यक्ष भइसकेकी थापा पछिल्लो समय सक्रिय राजनीतिमा थिइनन् । तर पूर्व माओवादी कोटाबाट दुई मन्त्री बनाउँदा नैनकला सञ्चारमन्त्री बनेकी छन् । उनी एमाले नेता एवं पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी हुन् ।

पुस ५ गतेको संसद विघटन गर्दा साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आफूलाई साथ दिएका पूर्व माओवादी केन्द्र खोमाका नेताहरु टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरी र दावा लामालाई प्रधानमन्त्री ओलीले १० पुसमा मन्त्री बनाएका थिए । गृहमन्त्री बादलसँगै लेखराज भट्ट पनि मन्त्री नै थिए ।

२३ फागुनमा सर्वोच्चले एमाले र माओवादी ब्यूँताएपछि पनि बादलसहितका नेताहरु ओलीतिर लागे । माओवादी केन्द्रले कारबाही गरेपछि उनीहरुको संसद पद गयो । तर प्रधानमन्त्री ओलीले संविधानको धारा ७८ अनुसार उनीहरुलाई पुनः मन्त्री नियुक्त गरे ।

२७ वैशाखमा संसदको विश्वास गुमाएका प्रधानमन्त्री ओली ३१ वैशाखमा संसदको सबैभन्दा ठूलो दलको नेताका हैसियतमा प्रधानमन्त्री नियुक्त भए । उनले अघिल्लो क्याबिनेटका सबै मन्त्रीलाई दोहो¥याए । तर सर्वोच्चले ६ जेठमा संविधानको धारा ७८ अनुसार भएका बाललसहितका ७ मन्त्रीलाई पदपुक्त गरिदियो ।

उनीहरुको माग फेरि आफूहरुलाई नै मन्त्री नियुक्त गरियोस् भन्ने थियो । तर प्रधानमन्त्रीले सर्वोच्चको आदेशका कारण नमिल्ने बताएपछि मन्त्रीमा नैनकलाको इन्ट्री भएको एक पूर्व मन्त्री बताउँछन् । उनले भने, ‘हाम्रो लिगेसी रहोस् भनेर उहाँलाई मन्त्री बनाएका हौं ।’

अरु कोको भए मन्त्री ?

प्रधानमन्त्री ओलीले एमालेबाट नादरमुनी रानालाई वनमन्त्री बनाएका छन् । कैलाली ५ मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणालाई हराएर प्रतिनिधसभा सदस्यमा निर्वाचित रानालाई मन्त्री बनाउनुपर्ने दबाव प्रधानमन्त्री ओलीमाथि थियो । एमालेबाट गणेश पहाडी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका छन् ।

माधव नेपाल समूहमा पनि योगेश भट्टराई निकट मानिएका उनले पछिल्लो पटक प्रतिनिधिसभा विघटन खारेज र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट हाल्दा हस्ताक्षर गरेनन् । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीले जेठ २ मा फर्किने सार्वजनिक प्रतिवद्धता जनाएकाले आफू मन्त्री हुन तयार भएको नवनियुक्तमन्त्री पहाडीले बताए ।

एमाले नेता मोहन वानियाँलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मन्त्री बनाइएको छ भने पूर्व माओवादी केन्द्र खेमाबाट ज्वालाकुमारी साह कृषिमन्त्री बनेकी छन् । प्रदेश २ को प्रदेशसभा सदस्यमा माओवादी केन्द्रबाट निर्वाचित उनी एमाले प्रवेश गरेपछि पदमुक्त भएकी थिइन् ।

यस्तै जसपाको महन्थ ठाकुर पक्षबाट राजकिशोर यादव उद्योगमन्त्री बनेका छन् । जसपाको ठाकुर पक्ष ७ जेठमा ८ मन्त्री र दुई राज्यमन्त्री लिएर सरकारमा गएको थियो । एमालेकी आशा विक वन राज्यमन्त्री बनेकी छन् । उनीहरुको आजै अपरान्ह ४ बजे शीतलनिवासमा शपथग्रहणको तयारी गरिएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

मुगुका मोहन बानियाँ पनि बने मन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद विस्तार गर्दा मुगुका एमाले नेता तथा निवर्तमान सांसद मोहन बानियाँ मन्त्रीमा समेटिए । दिउँसो ४ बजे शपथ ग्रहणको समय तोकिए पनि मन्त्री हुनेहरुको नाम सार्वजनिक भएपछि उनीहरु शुभेच्छुक र कार्यकर्ताको बधाई थापिरहेका छन् ।

बानियाँलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेर्ने गरी मन्त्री बनाइएको छ । बानियाँले आफू चौथो पटकको प्रयासमा बल्ल मन्त्री बनेको सुनाए । भन्छन्, ‘म त पुरानै सिनियरै मान्छे हो, बल्ल अहिले (पालो) आयो ।’ २०७२ सालमा संविधान निर्माण भएपछि केपी शर्मा ओली नेतृत्वको सरकारमा जान उनले पहल गरेका थिए । तर त्यतिबेला अवसर पाएनन् ।

२०७४ सालमा प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन पद्धतिबाट सांसद निर्वाचित भएपछि पनि उनले मन्त्रीका लागि लबिङ गरेका थिए । ‘राज्यमन्त्री दिने कुरा भयो, म हुन्न भनें,’ उनले भने । प्रधानमन्त्रीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेपछि तत्कालीन नेकपाको प्रचण्ड–माधव पक्षका नेताहरु सरकारबाट बाहिरिएपछि बानियाँले मन्त्री बन्न पहल गरे ।

प्रधानमन्त्री ओलीले ८ जना मन्त्री र एक राज्यमन्त्री बनाउँदा पनि बानियाँ परेनन् । ‘माओवादीबाट आएका साथीहरुलाई सेटल गर्नुपर्ने भएपछि बाहिर परें,’ उनले भने । त्यतिबेला शपथ ग्रहणका लागि तयार भएर बसेका थिए । तर अन्तिम समयमा उनलाई टेलिफोन आएन । आफैंले तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई टेलिफोन गरेर बुझ्दा सरी भनेको उनले बताएका थिए ।

‘दौरा सुरुवालै लगाएर बसेको त होइन, तर त्यस्तै त्यस्तै हो,’ बानियाँले भने । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक निर्वाचन पद्धतितर्फ पिछडिएको क्षेत्रबाट निर्वाचित भएका उनी एमालेमा अध्यक्ष ओली पक्षका पुरानै नेता हुन् । बानियाँले कर्णाली पछाडि परेको ठाउँको प्रतिनिधि हुनाले आफू क्याबिनेट स्तरको मन्त्री हुनुपर्ने माग गर्दै आएका थिए ।

‘क्याबिनेट स्तरको मन्त्री कर्णालीले पाउनुपर्छ भन्ने माग हो, समग्र कर्णालीबासीले यो माग गरेका हुन्,’ उनले भने । बानियाँले सरकारमा जानका लागि कुनै मन्त्रालय रोजेका थिएनन्, खाली कर्णालीको प्रतिनिधिको हैसियतमा सरकारमा जान पाउनुपर्छ भन्ने उनको माग थियो । अहिले सरकारमा जाने चाहना त पूरा भयो, तर समय उपयुक्त नभएको उनलाई अनुभूति भएको छ ।

‘अलिकति काम गर्ने मौका भएको भए हुन्थ्यो । तर चुनावमा जानुपर्ने भयो । आफ्नो भिजन मिसन अनुसार काम गर्ने वातावरण सिर्जना हुँदैन,’ बानियाँले भने, ‘खाली मन्त्री बन्ने धोको त पूरा होला तर देशलाई राम्रो निकास दिने, आफूले सोचेको मिसन पूरा गर्ने सम्भावना कमै हुन्छ ।’

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहीबार १५:२७