सूचनाको शक्ति - The Power Of Information

        

कोरोना महामारी

भेरी अस्पतालमा पीसीआर परीक्षण क्षमता दोब्बर, संक्रमित निको हुने दर बढ्यो

जेठको पहिलो साता ७५ प्रतिशतसम्म रहेको संक्रमण दर अहिले ३० प्रतिशतमा झरेको छ ।

फाइल तस्वीर

बाँके । गत वर्ष कोरोना सङ्क्रमण सुरु भएसँगै पीसीआर मेसिन जडान गरेर पश्चिम नेपालकै धेरै जिल्लाको कोरोना परीक्षण गर्दै आएको नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशालामा फेरि अर्को पीसीआर मेसिन थप भएको छ । पीसीआर मेसिन थप गरिएसँगै अब प्रयोगशालाको कोरोना परीक्षण क्षमता दोब्बर बढी भएको छ ।

भेरी अस्पतालले दिएको जानकारीअनुसार यूएसएड स्वास्थ्यका लागि सक्षम प्रणालीको सहयोगमा अस्पताललाई एक थान नयाँ पीसीआर मेसिन प्राप्त भएको हो । भेरी अस्पतालको पीसीआर प्रयोगशालाका लागि एक पटकमा ९६ वटा स्याम्पल जाँच गर्न सकिने पीसीआर मेसिन भेरी अस्पतालका प्रमुख डा.प्रकाश थापालाई आइतबार हस्तान्तरण गरिएको छ ।

सो मेसिन प्राप्त भएपछि अब भेरी अस्पतालमा दुईवटा पीसीआर मेसिनको भएकाले अस्पतालमा कोरोना परीक्षण क्षमता दोब्बर भएको अस्पताल प्रमुख डा.थापाले बताए । उनले अबदेखि आवश्यक परेको बेला स्वाब भण्डारण र परीक्षणमा सहजता हुने जनाउँदै छिटो र बढीभन्दा बढीको कोरोना परीक्षण गर्न सकिने बताए ।

भेरी अस्पतालको पीसीआर प्रयोगशालामा हालसम्म एउटै मेसिनले यस क्षेत्रका ८० हजार २४७ जनाको कोरोना परीक्षण गरिसकिएकोमा १७ हजार २३८ जना सङ्क्रमित फेलापरेको पीसीआर प्रयोगशालाका प्रमुख प्रसन्न मिश्रले जानकारी दिए । उनले यो प्रयोगशालामा बाँके, बर्दिया, कैलाली, दाङ, सल्यान र दैलेख लगायतका जिल्लाका बिरामीको कोरोना परीक्षण गरेको बताए ।

सङ्क्रमण बढेका बेला परीक्षण गराउनेहरू एक्कासी वृद्धि हुने गरेकाले अब दुईवटा मेसिन रहेको हुँदा परीक्षणमा सहज हुने प्रयोगशालाका प्रमुख मिश्रले बताए । मेसिन जडानपछि पीसीआर परीक्षण पहिलेभन्दा छिटो र दोब्बर भएको छ । भेरी अस्पतालको ल्याब टेकुस्थित केन्द्रीय जनस्वास्थ्य प्रयोगशालापछि सबैभन्दा धेरै कोरोना स्वाब परीक्षण गर्ने प्रयोगशाला हो ।

भेरी अस्पतालका अनुसार बाँके र बाहिरी जिल्लामा कोभिड–१९ को संक्रमण पहिचानको संख्या र संक्रमकता अनुपात घट्दो देखिएको छ । बैशाख पहिलो साता उच्च बिन्दुमा रहेको संक्रमण दर जेठ पहिलो सातादेखि क्रमशः घट्दै गएको पाइएको छ । केही समयअघि ५५० भन्दा धेरै नमुना संकलन हुने भेरी अस्पतालमा अहिले उक्त संख्या घटेर १०० मा पुगेको छ ।

जेठको पहिलो साता ७५ प्रतिशतसम्म रहेको संक्रमण दर अहिले ३० प्रतिशतमा झरेको छ । अस्पतालका अनुसार कोभिड वार्डमा भर्ना हुने संख्या पनि बिस्तारै घट्दै गएको छ । बैशाखाको तेश्रो हप्ता औसत दैनिक ४० जनासम्म बिरामी भर्ना भएकोमा हाल त्यो संख्या १० भन्दा कम भएको छ । यो संख्या दोश्रो लहरको कोभिड संक्रमण सुरु हुने बेलाकै हाराहारी हो ।

अस्पतालमा उपचारका लागि नयाँ कोरोना संक्रमित थपिने क्रम घटेको भए पनि उपचाररत बिरामीहरुो संख्यामा भने घटेको छैन । अस्पतालका अनुसार अधिकांश बिरामीहरू लामो समयदेखि भर्ना भइ उपचाररत रहेका छन् । हालसम्म भेरी अस्पतालमा ८८ जना र मेडिकल कजेल कोहलपुर ५० जना गरी १३८ जना उपचाररत छन् ।

भेरीमा उपचाररत ३४ महिला र ५४ जना पुरुषमध्ये ४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको र ३१ जना सिकिस्त विरामी आइसियुमा रहेको जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेका कोारोना फोकल पर्सन तेज वलीले जानकारी दिए । उपचाररत विरामीमध्ये बाँकेका ३० जना र अन्य बाहिरी जिल्लाका रहेका छन् ।

उनका अनुसार भेरी अस्पतालमा मध्यम खालका ५३ जना विरामीको उपचार भइरहेको छ । त्यस्तै मेडिकल कलेज कोहलपुरमा उपचाररत ३६ पुरुष र १४ महिलामध्ये ४४ जना सिकिस्त रहेका छन् । मेडिकल कजेजमा उपचाररत १४ जना बाँके जिल्लाका रहेका छन् भने अन्य बाहिरी जिल्लाका रहेको डिसिसिएमसीले जनाएको छ ।

बाँकेमा हालसम्म १७ हजार ३०२ जना संक्रमितमध्ये १६ हजार ७०९ जना निको भएका छन् । कोरोना फोकल पर्सन वलीका अनुसार निको हुने दर ९६.५७ प्रतिशत रहेको छ भने बाँकेमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ६३२ पुगेको छ । जसमध्ये बाँके जिल्लाका ३०५ जना र बाहिरी जिल्लाका ३२७ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहीबार ०९:२७