सूचनाको शक्ति - The Power Of Information

        

एमाले विवाद

एकताको प्रयास र विभाजनको तयारीकाबीच एमालेमा आज छुट्टाछुटै बैठक

छलफल गरेर आगामी रणनीति बनाउने

काठमाडौं । नेकपा एमालेको केपी शर्मा ओली र झलनाथ खनाल माधव नेपाल पक्षको आज छुट्टाछुट्टै बैठक बस्दै छ ।

ओली पक्षीय स्थायी कमिटी बैठक आज अपरान्ह ४ बजे बस्ने भएको छ भने खनाल नेपाल पक्षीय केन्द्रीय समितिको बैठक आज बिहान ११ बजे भर्चुअल बैठक बस्दै छ ।

एकताको प्रयास र विभाजनको तयारीका बीच एमालेका दुई पक्ष विहीबार आन्तरिक छलफल गर्दै छन्  । काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका खनाल, नेपालसहित ११ जनालाई पार्टीबाट निकालेर ओली पक्ष एकताको प्रयास गरिरहेको छ ।

यद्यपि ओली पक्षबाट नेपाल पक्षका केन्द्रका १२ जना र सुदूरपश्चिमका १० जना नेतामाथि गरिएको कारबाहीको तयारी रोकिएको छ ।

ओली पक्षले नेपालसहितका केही नेता बाहेकलाई बाहिर राखेर एकताको प्रयास गरिरहेको छ । त्यसमा माधव नेपाल पक्षमा नेताहरु घनश्याम भुसाल सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण बिष्ट लागि परेको देखिन्छ ।

उनीहरुले केही दिनयता ओली पक्षसँग निरन्तर छलफल गरिरहेका छन् । आफ्नो निर्देशन विना ओली पक्षसँग उनीहरुले गरिरहेको वार्ताप्रति असन्तुष्ट नेता खनाल र नेपालले आज केन्द्रीय कमिटीमा छलफल गरेर आगामी रणनीति बनाउने बुझिएको छ ।

दुवै पक्षका दोस्रो पुस्ताका नेताबीच संवाद चलिरहेका बेला नेता  नेपालले ओलीको सन्देश आफ्नो समूहलाई ‘फुटाउने र राज गर्ने’ नीतिका रूपमा आएको बताएका छन्। साँचो अर्थमा ओलीले पार्टीको विवाद मिलाउन नचाहेको नेपालको बुझाइ छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहीबार ०८:२३