सूचनाको शक्ति - The Power Of Information

        

नेपालमा पनि पुष्टि भएको कोरोनाको नयाँ भेरियन्टको नाम ‘डेल्टा’ राखियो

काठमाडौं । विश्व स्वास्थ्य संगठनले विश्वका विभिन्न देशमा फेला परेका कोरोना भाइरसका नयाँ भेरियन्टलाई छुट्टाछुट्टै नाम दिएको छ ।

विश्व स्वास्थ्य संगठनले बेलायतमा भेटिएको भेरियन्टलाई ‘अल्फा’, ब्राजिलमा भेटिएको भेरियन्टलाई ‘गामा’, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई ‘बेटा’, भारतमा भेटिएको भेरियन्ट (B.1.617.2) लाई ‘डेल्टा’ नाम दिएको छ ।

भारतमै फेला परेको अर्को भेरियन्ट (B.1.617.1) लाई ‘कप्पा’ नाम दिइएको छ । भारतमै फेला परेका(B.1.617.2) र (B.1.617.1) भेरियन्ट नेपालमा पनि पुष्टि भएको छ ।

त्यसैले  नेपालमा फेला परेका यी भेरियन्टलाई पनि डेल्टा र कप्पा भन्नुपर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा‍. सागर राजभण्डारीले बताए ।

ज्यादै संक्रामक मानिने भारतमा फेला परेको ‘डेल्टा’ भेरियन्ट विश्वका ५० भन्दा बढी देशमा फैलिएको बताइन्छ । कोरोना भाइरसको भेरियन्टको नाममा सहजीकरण र यसको भ्रम अन्त्य गर्नका लागि ग्रिक शब्दबाट नयाँ नामकरण गरिएको बीबीसीले जनाएको छ ।

यसअघि जुन देशमा भेटियो, त्यही देशको नामबाट भेरियन्टलाई चिनाउने गरिएको थियो । भारतले ‘भारतीय भेरियन्ट’ भनिएकोमा आपत्ती नै जनाएको थियो ।

भारतको सन्चार मन्त्रालयले ‘भारतीय भेरियन्ट’ लेखिएका सबै पोष्ट हटाउन सामाजिक सन्जाल कम्पनीलाई निर्देशन नै दिएको थियो ।

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलवार ०८:२८