सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्रीमा ओली नियुक्त, ४ बजे सपथ


काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न एमाले र माओवादीले बिहीबार नै राष्ट्रपति समक्ष समर्थनको पत्र बुझाएका थिए ।
निर्वाचन आयोगले बुधबार मात्र प्रतिनिधिसभा निर्वाचनको अन्तिम परीणाम बुझाएसँगै सरकार गठनको बाटो खुलेको थियो । नवनियुक्त प्रधानमन्त्री ओलीले दिउँसो ४ बजे सपथ लिनेछन् । सपथ ग्रहण समारोेह शीतल निवासमा हुनेछ ।
प्रधानमन्त्री ओलीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नु पर्ने हुन्छ । २७५ सदस्यीय प्रतिनिधिसभामा एमालेका १२१ र माओवादीका ५३ गरी १६४ सासद छन्, जबकी बहुमतका लागि १३८ सांसद भए पुग्छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले देशबासीलाई सम्बोधन गर्दै राजीनामा दिएसँगै एमाले अध्यक्ष ओली ४१ औं प्रधानमन्त्री बनेका छन् । राजीनामाका क्रममा प्रधानमन्त्री निवास बालुवाटारबाट सम्बोधन गर्दै देउवाले तीनै चरणको निर्वाचन सम्पन्न गरेको र संविधान कार्यान्वयन गरेकोलाई आफ्नो कार्यकालको सबैभन्दा ठूलो सफलताको रुपमा व्याख्या गरेका थिए ।
सरकारको नेतृत्वमा नरहे पनि जनताको सुखदुःखमा रहिरहने उनले बताएका छन् । सम्वोधनलगत्तै आफ्नो राजीनामा पत्र बुझाउन देउवा राष्ट्रपति कार्यालय शितल निवास पुगेका थिए । कांग्रेस सभापति देउवा गत जेठ २४ गते मुलुकको ४० औं प्रधानमन्त्री बनेका थिए ।

नवनियुक्त प्रधानमन्त्रीको सपथ ४ बजे
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार दिउँसो ४ बजे सपथ लिने भएका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालका अनुसार सपथको समय दिउँसो ४ बजेका लागि तोकिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा बुझाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।
यसअघि एमाले र माओवादी नेताहरुले शितल निवास पुगेर ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न दाबी पेश गरेका थिए । संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्ती गर्नका लागि केपी ओलीले माओवादीको समर्थन सहितको पत्र पेश गरेका थिए । योसँगै ओली दोस्रो पटक प्रधानमन्त्री बनेका छन् । यसअघि उनी २०७२ असोजमा प्रधानमन्त्री नियुक्त भएका थिए ।

प्रकाशित मिति : ३ फाल्गुन २०७४, बिहीबार ०६:२६