सूचनाको शक्ति - The Power Of Information

        

विश्वकै मोटी महिलाको निधन

एजेन्सी, अबुधाबी । विश्वकै मोटी महिला इमान अहमद अब्दुलातीको ३७ वर्षको उमेरमा निधन भएको छ । उनको युएईको अबुधाबीमा सोमबार बिहान निधन भएको हो । इजिप्टकी स्थायी बासिन्दा इमान आफ्नो तौल घटाउन यसै वर्षको सुरुवातमा भारतको मुम्बईस्थित सैफी अस्पताल पुगेकी थिइन् । तर, त्यहाँ उपचार प्रभावकारी नभएको भन्दै परिवारले उनलाई अप्रिल ४ मा अबुधाबी लगेका थिए । इमानको विगत ५ महिनादेखि बुर्जिल अस्पतालमा उपचार भइरहेको थियो ।
उनको उपचारमा २० जना चिकित्सक सक्रिय थिए । मुटुको समस्याका कारण उनको निधन भएको जानकारी चिकित्सकले दिएका छन् । इमानको तौल ५०४ किलो थियो । भारत र अबुधाबीमा गरी दुई पटक शल्यक्रिया गराउँदा उनले एक सय किलो तौल घटाएकी थिइन् । उनी मोटोपनाका कारण विगत २५ वर्षदेखि अलेक्जेन्ड्रियास्थित आफ्नो घरबाट बाहिर निस्किन सकेकी थिइनन् । मोटोपनका कारण इमानलाई खाना खान, कपडा फेर्न र नुहाउन समेत आमा र दिदीहरुको सहयोग लिनुपथ्र्यो ।
परिवारका अनुसार, इमानको तौल जन्मिँदा नै ५ सय किलो थियो । चिकित्सकले उनलाई ‘एलिफेन्टाइसिस रोग’ लागेको पत्ता लगाएका थिए । यो रोग भएका मान्छेहरु सुन्निने गर्छन् । मोटोपनले थलिएकी उनी ११ वर्षको उमेरदेखि ओछ्यान परेकी हुन् । थाइराइडको समस्याका कारण उनले प्राइमरी स्कुल छोड्नुपरेको थियो । इमान अहिलेसम्मको इतिहासमा विश्वकी दोस्री मोटी महिला हुन् । अमेरिकाकी क्यारोल यागर अहिलेसम्मकै मोटी मानिन्छिन् । ५४० किलोकी उनको निधन ३४ वर्षको उमेरमा सन् १९९४ मा भएको थियो ।

प्रकाशित मिति : ९ आश्विन २०७४, सोमबार १०:२५