भरत केसी । बुटवल । प्रदेश नं ५ का नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेल विसं २०१९ फागुन १५ गते दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं १९, बिजौरीमा बुबा केशवराज शर्मा र आमा तिलका देवीको कान्छो सन्तानका रुपमा जन्मिएका हुन् । उनी हाल नेकपा एमालेको स्थायी कमिटी सदस्य हुन् । मुख्यमन्त्री पोखरेलकी श्रीमती एमाले नेत्री सुजिता शाक्य हाल एमाले केन्द्रीय सदस्य र अखिल नेपाल महिला संघको सचिव हुन् । उनीहरुका दुई छोरी छन् ।
वैचारिक दक्षता
विद्यार्थी छँदै राजनीतिमा प्रवेश गरेका मुख्यमन्त्री पोखरेलको वैचारिक र राजनीतिक क्षमता र संगठनात्मक कार्य कुशलतालाई उदाहरणीय मानिन्छ । भारतमा अध्ययनरत छँदा उनले प्रवासी नेपाली विद्यार्थीको नेताको रुपमा उनीहरुको हकअधिकारको पक्षमा महत्वपूर्ण भूमिका खेलेका थिए । उनले अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनका संस्थापक अध्यक्षलगायतको जिम्मेवारी वहन गरिसकेका छन् ।
जननेता स्व मदन भण्डारीसँग निकै निकट रहेर काम गरेका पोखरेलले अनेरास्ववियुका अध्यक्ष, त्रिभुवन विश्वविद्यालयका स्ववियु सभापति जस्ता भूमिकालाई कुशलतापूर्वक निर्वाह गरेका छन् । विसं २०३६ मा भएको विद्यार्थी आन्दोलन, २०४५/४६ मा पञ्चायती व्यवस्था अन्त्यका लागि भएको आन्दोलनको नेतृत्वदायी भूमिका खेलेका पोखरेलले २०६२/६३ को जनआन्दोलनमा काठमाडौँको मोर्चाबाट आन्दोलनको नेतृत्व गरेका थिए ।
हाल पार्टीमा पोखरेलले पार्टी स्कूल विभागको उपप्रमुखको समेत जिम्मेवारी निर्वाह गरिरहेका छन् । पार्टी कार्यकर्तालाई प्रशिक्षित गर्ने काममा पोखरेल निकै सक्रिय हुन् । एमालेलाई बहुपदीय प्रणालीमा लैजान उल्लेख्य भूमिका खेलेका पोखरेल पार्टीमा प्रष्ट वैचारिक दृष्टिकोण, राजनीतिक अडान र कार्यशैलीमा एकरुपता कायम गर्न सक्ने नेताहरुमध्ये एक मानिन्छन् । माओवादी आन्दोलन उत्कर्षमा रहेको बेला हिंसाको अन्त्य र प्रजातान्त्रिक निकासका पक्षमा जनमत सिर्जना गर्न राप्ती अञ्चलका पहाडी जिल्लामा उनले शान्ति पदयात्राको नेतृत्व गरेका थिए ।
जनकपुरमा भएको एमालेको सातौँ महाधिवेशनमा पार्टीमा संविधानसभाको प्रस्ताव लैजाने उनी नै पहिलो व्यक्ति हुन् । अघिल्लो संविधानसभामा राज्य पुनःसंरचनाको खाका कोर्न महत्वपूर्ण भूमिका खेलेका पोखरेल ३२ वर्षको उमेरमा पहिलो पटक २०५१ सालमा दाङको क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । उच्चस्तरको वैचारिक क्षमता र कुशल वक्ताको रुपमा उनी संसदमा समेत जनसरोकारका विषयलाई जोडदार ढंगले उठाउने सीमित सांसदहरुमा पर्छन् ।
‘मिनि नेपाल’ मुख्यमन्त्रीको सपना
राजनीतिक स्वतन्त्रता, जनहित र समानताको पक्षमा संघर्ष गर्नुभएका पोखरेल समग्र नेपालको आर्थिक विकासको खाका कोर्न सक्ने सीमित नेतामध्ये हुन् । त्रभुवन विश्वविद्यालयबाट एमबिए तहको अध्ययन पूरा गरेका पोखरेल भू–राजनीति र अर्थशास्त्रबारे राम्रो ज्ञान भएका नेतामध्ये एक हुन् ।
आर्थिक सामाजिक विकास र रुपान्तरणका सन्दर्भमा उनका सोचलाई पार्टीको नवौँ महाधिवेशनले पार्टीको राजनीतिक कार्यदिशाका रुपमा आत्मसात् गरेको छ । राजनीतिक अधिकार प्राप्तिको संघर्षको सफलतापछि अब मुलुक आर्थिक–सामाजिक विकास र रुपान्तरणको दिशामा अघि बढ्नु पर्दछ भन्ने उनी ५ नं प्रदेशको योजनावद्ध विकास गरेर ‘मिनि नेपाल’ बनाउन सकिने धारणा राख्छन् ।
साहित्यिक सिर्जना
विगतमा पार्टी सचिवको रुपमा काम गरिसक्नुभएका पोखरेलले सूचना तथा सञ्चारमन्त्रीको जिम्मेवारी समेत सम्हालिसकेका छन् । पोखरेलका राजनीतिक, वैचारिक र समाजका विविध क्षेत्रमा थुप्रै पुस्तक र लेख रचना प्रकाशित छन् । उनले साहित्य सिर्जनातर्फ पनि उत्तिकै सक्रियताका साथ कलम चलाएका छन् । पोखरेलले ‘युगलहर’, ‘सिमानापारिको हुङ्कार’, ‘राष्ट्रिय विकल्प’, ‘राष्ट्रिय सङ्कल्प’ लगायत पत्रिका र साहियित्क रचना संग्रहको सम्पादन पनि गरेका छन् । रासस
।