केही वर्ष पहिले मलाई एकजनाले एउटा पुस्तक दिनुभयो, सेतो लुगाभित्र कालो मन । मैंले अचम्म मान्दै के बुक हो ? भनी तत्काल प्रस्न गरें । सर मेरो पीडा र भोगाई हो । तपाईंको व्यक्तिगत पीडा र भोगाई हामीले किन पढ्नु ? हेर्दा दयनीय अवस्थामा देखिने ती व्यक्ति कुनै ठूलो विपत्तिबाट निस्केको जस्तो देखिन्थ्यो नै ।
पुस्तक पढ्दै जाँदा रैछ की, उहाँको आमाको उपचारको क्रममा मृत्यु भएको कारण यो पुस्तकको सृजना गरिएको । उहाँलाई लागेछ नर्स र डाक्टर ले मेरो आमालाई बचाइदिएनन् । चाहेको भए बचाउन सक्थे । लापरबाही गरे र मेरो आमा मरिन । त्यसैले नर्स र डाक्टर भनेका दुस्मन हुन । मैले पढेका पुस्तक मध्य मन नपरेको पुस्तक थियो त्यो ।
कतिपय समाचार यस्ता पनि आउँछन् । जहाँ चिकित्सकले लापरबाही गरे । अस्पताल घेराउ भयो । डाक्टर कुटिए । नर्स कुटिए । तर मलाई के लाग्छ भने उपचारको क्रममा जति मान्छेको मृत्यु हुन्छ ती सबै नर्स, डाक्टरको लापरबाहीले मृत्यु भएको होइन । सबै बिरामीलाई उपचार गरेर बचाउन सकिने भए सायद यहाँ कोही पनि मर्नु पर्थेन होला, कम्तीमा तिनै नर्स, डाक्टरका परिवारका मान्छे कोही पनि मर्थेनन् ।
अझैं ती नर्स, डाक्टरहरु त झन मर्ने कुरै भएन । परीक्षा मा छोरो पास भएपछि मेरो छोरो मेहनती छ, मैले खुब लगानी गरेको छु, मेरो छोरो केही गर्छ भन्ने । फेल भयो भयो मास्टर त त्यस्तो छ त्यसले पढाएको छोरो कस्तो होला । यी मास्टरले मेरो छोरो खत्तम पारे भन्ने । यो हाम्रो समाज को प्रतिविम्ब हो ।
युद्धमा होमिएको सिपाही, लडिरहेको सिपाहीको पछाडि अरु २-३ जना सिपाही साथी सपोर्ट रूपमा हुन्छन् । उसको गोली सकियो भने गोली पास गर्न, हतियार बिग्रियो भने फेर्न, उसलाई भोक प्यास लाग्यो चिउरा पानी सप्लाई गर्न, घाइते भयो भने उद्धार गर्न, औषधी गर्न, पछाडि साथी खडा हुन्छ । यदि उ मर्यो भने उसको ठाउँबाट लड्न अर्को साथी तयार हुन्छ ।
यी सेता बस्त्रधारि नर्स, डाक्टर भनेका त्यही लडाइँका सिपाही हुन अहिले । कोरोनासँग विश्वयुद्धमा होमिएका छन् । तर यी बेसाहारा छन् । न यिनलाई कोही प्यास लाग्दा पानी दिन्छ । न भोक लाग्दा चिउरा । गोली सकिँदा, हतियार बिग्रँदा सप्लाई गर्ने कोही छैन । न घाइते हुँदा मलम लगाइदिने कोही छ ।
उनीहरूलाई थप भत्ता त चाहिँदा पनि चाहिन्न । बिदा चाहिने त झन कुरै भएन । बीमा गर्न उहाँहरू राजी हुनुहुन्न । अरु सुविधा खानलाई अनुगमनमा गएको हो र ? अफिसको बजेट नर्स, डाक्टरलाई चुइँक्क पनि जानकारी दिनहुन्न । शनिवार छुट्टी हुने त स्कूल पढ्दा पो हो । हस्पिटलमा सातै दिन चौबिसै घण्टा तैनाथ हुनपर्छ । घुम्न जाने मन मारिसके होलान् ।
गेट टुगेदर त बिर्सिसके । निजी जीवन त्यागिसके । अब त्याग्न बाँकी प्राण मात्र छ । देशको लागि। जनताको सेवाको लागि । सुन्यौं, एउटा मास्क समेत किनेर लगाउन पर्छ । उसको पछाडि को छ भनौं ? छ त कोरोना । दुई खाले कोरोना । एउटा कोरोनाबाट बच्न भ्याक्सिन लगाए, पिपिई लगाउँछन्, मास्क सेनिटाइजर लगाउँछन् ।
अर्को खाले कोरोनाबाट बच्ने अहिलेसम्म न कुनै भ्याक्सिन छ न कुनै पिपिई । मानवरूपी दानवहरु । जो सधैं नर्स, डाक्टरलाई आफ्नो दुस्मन सम्झिन्छन् । उनैले मान्छे मरेको ठान्छन् । उनको पद र पैसाले, मरेको मान्छे पनि बचाइदिन पर्ने जस्तो गर्छन् । जब डाक्टरले मरेको मान्छे बचाउन नसकिने कुरा गर्छन् अनि डाक्टरलाई झम्टीन्छन्, कुट्छन, पिट्छन् ।
लखेटी लखेटी मार्न खोज्छन् । यही हो हाम्रो महानता । हाम्रो गौरव । हाम्रो परिचय । हामी नर्स, डाक्टरलाई कुटेर आउँदा गर्व गर्छौं । कसैलाई पनि थाहा छैन झैँ गर्छन् की नर्स, डाक्टरलाई पनि भोक लाग्छ । थकाइ लाग्छ । प्यास लाग्छ । निद्रा लाग्छ । अझैं भनौँ बाँच्न मन लाग्छ । तर यो थाहा छ मेरो बिरामीलाई स्लाइन पानी यिनैले चढाउँछन्, बाँचोस् भनेर ।
आफैं मरेर अरुलाई बचाउँछ कोही भने ती नर्स, डाक्टर नै हुन् । तर त्यो कोही बुझ्दैन । बुझ्न पनि चाहन्न । यही कोरोना बिरामीको उपचारमा खटिने कति स्वास्थ्यकर्मीले ज्यान गुमाइसकेको छन् । घरमा बुढा बा आमा, सानो बच्चा छोडेर दिनरात हाम्रै बिरामी आफन्तको हेरचाह गर्छन्, हामी सोच्छौं की उसको ड्युटी हो । तलब खाएका छन् ।
जबकि हामी कोरोना वार्डसम्म नजिक जान पनि मृत्यु लोकको गेटमा पुगेँजस्तो गर्छौँ । जहाँ उनीहरू सातै दिन चौबिसै घन्टा घुमिरहेका छन् । हाम्रा आफन्त को कसलाई के कुन अफ्ठेरो छ के कुन औषधी दिनु छ । अनि फेरि घर जान्छन् बुढा भएका बा आमालाई तातो पानी तताएर दिन्छन्, बच्चालाई दूध चुसाउँछन् ।
यो जोखिम र बाध्यता हामी देख्दैनौं । हामी देख्छौं मेरो बिरामीलाई औषधी खुवाउन ढिला भयो । हामी यो देख्दैनौं एक जना नर्सले ४०-५० जना बिरामीको हेरचाह गर्नुपर्छ । उनीहरूको उपचारले को कति बाँचेर गए हामीले उनीहरूलाई कहिलै धन्यबाद सम्म भनेका छौं ? कहिलै सम्मान गरेका छौं ? फूलमाला लगाइदिएका छौं ? मृत्युको मुखबाट झिकेर घर पठाउने यी भगवानलाई कहिलै फलफूल लिएर भेट्न गएका छौं ? अहँ छैन ।
तर हामीले तिनीहरूको किचकिच याद गरेका छौं, तिनीहरू नबोली बाटो काटेको याद छ, मेरो बिरामी छट्पटाएको बेला डाक्टर कुद्दै नआएको याद गर्छौ । खुब सानले भन्छौँ छोरी बिग्रे नर्स भनेर । हाम्रो यो दरिद्र मानसिकता यो लाखौंको ज्यानलिने गरेर आएको महामारीको बेलामा समेत परिवर्तन हुन सकेन । आफ्नो ज्यानको समेत प्रवाह नगरी कोरोना बिरामीको उपचारमा खटिने सच्चा राष्ट्र सेवक स्वास्थ्यकर्मी हाम्रा साक्षात् भगवान् हुन् ।
आफन्त कोरोना पोजेटिभ भयो भन्दा हामी चार कोष टाढा सर्छौं तर ती नर्स, डाक्टरले आफ्ना बच्चा जसरी काखमा लिन्छन् र आमाले स्याहारेझैँ स्याहारेर बचाउँछन् । ती महामानव यो बेला पूज्य नभएका कहिले हुने ? ए कलियुग एउटामात्र सद्बुद्धि दिनुछ भने हामीलाई नर्स, डाक्टर प्रति हेर्ने दृष्टिकोण सही बनाइदे । त्यति बुद्धी जोगाइदे । हामीलाई जोगाउने काम त उहाँहरू गरिहाल्नु हुन्छ । उहाँ, तपाईं पछिको भगवाननै हो । भगवानसँग मेरो प्रार्थना छ यो महामारीबाट नर्स, डाक्टरलाई बचाइदेउ ।
।