सूचनाको शक्ति - The Power Of Information

        

कोरोना महामारी

वीर्य अभाव हुँदा पशुमा कृत्रिम गर्भाधान रोकियो

बाँके । कोरोना सङ्क्रमण बढेपछि अक्सिजन उत्पादन गर्ने उद्योगले नाइट्रोजन दिन नसक्दा बाँकेमा पशुमा गरिने कृत्रिम गर्भाधान कार्य बन्द भएको छ ।

पशु प्रजनन कार्यालय नेपालगन्जले कोरोनाका कारण अक्सिजन उत्पादन गर्ने उद्योगले नाइट्रोजन दिन नसक्दा वीर्यको अभाव भएकाले कृत्रिम गर्भाधान कार्य बन्द गर्नुपरेको जनाएको छ ।

नेपालगन्जको एचओ अक्सिजन उद्योगबाट नाइट्रोजन ल्याउने गरिएकामा प्रशासनले कोरोनाका कारण अहिले नाइट्रोजन वितरणमा रोक लगाएकाले कृत्रिम गर्भाधान कार्यक्रम बन्द गरिएको पशु प्रजनन् कार्यालय नेपालगन्जका प्राविधिक अधिकृत देवनारायण जैसीले जानकारी दिए ।

उनका अनुसार पशु प्रजननका लागि उन्नत जातको पशुको वीर्यको आवश्यकता हुन्छ, तर अहिले बाँके, बर्दियासहित लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका किसानले पशु वीर्य लगाउन पाएका छैनन् ।

जताततै अक्सिजन अभाव भइरहेको बेला नाइट्रोजन उत्पादन नभएकाले नाइट्रोजनबिना काम नहुने भएपछि किसानहरू मर्कामा परेका छन् । कोरोना केही हदसम्म नियन्त्रणमा आएपछि नाइट्रोजन पाइने र सिमेन दिन सकिने प्रजनन कार्यालयले जनाएको छ ।

नाइट्रोजन उत्पादनलाई प्राथमिकता नदिँदा कृत्रिम गर्भाधानको काम रोकिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकेका प्रमुख कमला अधिकारीले जानकारी दिइन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार ०७:४०