सूचनाको शक्ति - The Power Of Information

        

चिकित्सक कुट्नेलाई कारबाही गर्न देउवा र प्रचण्डको माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालगञ्जको भेरी अस्पतालका डाक्टर र नर्समाथि भएको आक्रमणको निन्दा गरेका छन् ।

उनीहरुले भेरी अस्पतालको घटनाबारे सामाजिक सन्जालमा धारणा सार्वजनिक गर्दै आक्रमणमा संलग्नलाई कानुनी कारवाहीको माग गरेका छन्

कांग्रेस सभापति देउवाले शुक्रबार बिहान ट्वीट गर्दै भनेका छन्, ‘नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर र नर्सहरुमाथि आक्रमण हुनु निकै निन्दनीय कार्य हो ।

यो महामारीका बेला ठूलो जोखिम लिएर स्वास्थ्यकर्मीहरु विरामीको उपचारमा दिनरात खटेका छन् । स्वास्थ्यकर्मीमाथि भएको यो घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारवाही गर्न माग गर्दछु ।’

यसैगरी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फेसबुकमा लेखेका छन्, ‘नेपालगञ्जस्थित भेरी अस्पतालमा डाक्टर र नर्सहरुमाथि भएको कुटपिट जस्तो अमानवीय व्यवहारप्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ र खेद प्रकट गर्दछ ।

हाम्रो पार्टीले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा आफ्नो स्वास्थ्यलाई ख्याल नगरी अहोरात्र खटिएका स्वास्थ्यकर्मीमाथि नै सांघातिक हमला गर्ने जो कोहिलाई पनि कानुनी कारवाही गरियोस् भनि माग पनि गर्दछ ।’

भेरी अस्पतालको भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु भएका एक बिरामीका आफन्तले बिहीबार साँझ ड्युटीमा खटिएका चिकित्सक र नर्सहरुलाई आक्रमण गरेका थिए ।

आक्रमणको विरोधमा अस्पतालका चिकित्सक, नर्स तथा कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । आक्रमणमा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार १३:३६