सूचनाको शक्ति - The Power Of Information

        

कैलाली र कञ्चनपुरमा छाडा चौपाया व्यवस्थापनको तीन वर्षे कार्ययोजना सार्वजनिक

दीपक उपाध्याय/कैलाली । सुदूरपश्चिम क्षेत्रीय पशु सेवा निर्देशनालयले कैलाली र कञ्चनपुरमा मुख्य समस्याको रुपमा देखिएको छाडा पशु व्यवस्थापनका लागि ३ वर्षे कार्ययोजना सार्वजनिक गरेको छ । कैलाली र कञ्चनपुरका ११ वटा स्थानीय तहका प्रमुख, उपप्रमुख र कार्यकारी अधिकृतको सहभागितामा क्षेत्रीय पशु सेवा निर्देशनालय दीपायलले धनगढीमा सामुदायिक छाडा पशु व्यवस्थापनका लागि ३ वर्षे कार्ययोजना सार्वजनिक गरेको हो ।
छाडा पशु चौपाया नियन्त्रणका लागि देशमै पहिलोपटक ७ नम्बर प्रदेशमा ३ वर्षे कार्ययोजना सार्वजनिक गरिएको क्षेत्रीय पशु निर्देशनालय दीपायलका प्रमुख क्षेत्रीय पशु निर्देशक कृष्णकान्त न्यौपानेले बताए । उनले ३ बर्षमा छाडा पशुचौपायाको नश्लसुधार गरी प्रदेश नम्बर ७ का किसानहरुलाई गाई वितरण गरिने बताए । यसका लागि तीन वर्षसम्म चौपाया राख्न र कृत्रिम गर्भाधान गराउन ७ करोड ४० लाख ५० हजार रुपैयाँ खर्च हुने आंकलन क्षेत्रीय पशु सेवा कार्यालयले गरेको छ ।
उक्त रकममध्ये ३ करोड नेपाल सरकार र बाँकी रकम सम्बन्धित स्थानीय तहहरुले व्यहोर्नुपर्ने प्रस्ताव गरिएको छ । सामुदायिक छाडा पशु व्यवस्थापनका लागि पशुको तथ्यांक सकलन, व्यवस्थापन, बीमाको व्यवस्था, आवश्यक पूर्वाधारको व्यवस्था, आहारा र स्वास्थ्यको व्यवस्थापन गरिने छ । सामुदायिक छाडा पशुमा उत्पादनशील प्रवद्र्धन कार्यक्रम र ‘एक गाई एक माई’ कार्यक्रम समेत सञ्चालन गरिने छ । कृषि पेशामा बढ्दो यान्त्रिकरण, युवा जनशक्ति विदेश पलायन हुनु लगायतका कारण जटिल बन्दै गइरहेका बेला निर्देशनालयले सार्वजनिक गरेको कार्ययोजना कोशेढुंगा सावित हुने पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. युवकध्वज जीसीले बताए ।
यस योजनालाई सफलतापूर्वक सम्पन्न गर्नका लागि मन्त्रालयले सम्पूण सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै जीसीले ११ वटै स्थानीय तहका जनप्रतिनिधिले पनि कार्यान्वयनमा सहयोग गर्नुपर्ने बताए । छाडा पशु चौपायाको समस्या प्रमुख रहेका कैलालीको धनगढी उपमहानगरपालिका, अत्तरिया, गौरीगंगा, घोडाघोडी, लम्की–चुहा र टीकापुर नगरपालिका तथा कञ्चनपुरका भीमदत्तनगर, शुक्लाफाँटा, महाकाली, कृष्णपुर र झलारी–पिपलाडी नगरपालिकामा सम्बन्धित स्थानीय तहको सहयोगमा व्यवस्थापन गर्ने प्रस्ताव क्षेत्रीय पशु सेवा निर्देशनालयले गरेको छ ।
क्षेत्रीय पशु सेवा निर्देशनालयको यो प्रस्ताव महत्वपूर्ण रहेको भन्दै सात नम्बर प्रदेशको एकमात्र उपमहानगरपालिकाका प्रमुख नृप ओडले आफू लगायत सबैको चुनावी एजेण्डामा छाडा गाई व्यवस्थापन गर्ने प्रमुख एजेण्डा रहेको उल्लेख गर्दै यो कार्यमा सबैले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । निर्देशनालयले गरेको प्रारम्भिक सर्वेक्षण अनुसार कैलाली कञ्चनपुरका ११ वटा स्थानीय तहमा मात्रै ३ हजार भन्दा बढी छाडा पशु रहेका छन् । करिव ३ हजारको हाराहारीमा रहेका पशुले दुुर्घटना बढ्नुका साथै शहरको सौन्दर्य बिगार्ने गरेका छन् भने कृषकको अन्नबाली समेत नष्ट गरिदिने गरेका छन् ।

प्रकाशित मिति : ९ आश्विन २०७४, सोमबार ०८:२१