सूचनाको शक्ति - The Power Of Information

        

सीसीएमसीको प्रमुखमा सेनाका पूर्वरथी बालानन्द नियुक्त

काठमाडौं । सरकारले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को प्रमुखमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेको छ ।

हिजो बसेको मन्त्रिपरिषदको बैठकले शर्मालाई सीसीएमसीको संयोजकमा नियुक्त गरेको हो । कोभिड—१९ संकट व्यवस्थापन अध्यादेशमा भएको व्यवस्था बमोजिम शर्मालाई सीसीएमसीको प्रमुख नियुक्त गरिएको हो ।

सीसीएमसीभन्दा माथि कोभिड १९ संकट निर्देशक समिति रहने अध्यादेशमा व्यवस्था छ ।

यो समितिको नेतृत्व प्रधानमन्त्री स्वयमले गर्ने र उपप्रधानमन्त्री, स्वास्थ्यमन्त्री, गृहमन्त्री, उद्योग वाणिज्यमन्त्री, अर्थमन्त्री, परराष्ट्रमन्त्री, मुख्य सचिव र प्रधानसेनापति सदस्य रहने व्यवस्था छ ।

निर्देशक समितिको सदस्य सचिवमा सीसीएमसीका प्रमुख रहने व्यवस्था अध्यादेशमा छ ।

तत्कालिन विद्रोही माओवादीका लडाकुलाई व्यवस्थापन गर्न बनेको सेना समायोजन विशेष समितिको संयोजक भएर सफलतापूर्वक काम गर्नुभएका शर्मालाई सरकारले कोरोनाविरुद्धको लडाईँमा आवश्यक रणनीति, मापदण्ड बनाएर सरकारलाई सिफारिस गर्ने मुख्य जिम्मेवारी दिएको हो ।

कोरोना महामारीको दोस्रो लहरले देश आक्रान्त भई जटिल अवस्थामा रहेकै बेला सरकारले शर्मालाई प्रमुख जिम्मेवारी दिएको हो । यसअघि सरकारले मन्त्रिपरिषदको निर्णयबाट सीसीएमसी गठन गरेको थियो ।

हाल सरकारले कोभिड संकट व्यवस्थापन अध्यादेश ल्याएर कानुनी व्यवस्था गरेको छ । अध्यादेशको व्यवस्थाअनुसार सीसीएमसी गठन गरिएको हो ।

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलवार ०८:२४